‘झण्डा काण्ड’ले बेललाई तनाव : समर्थकहरू रिसले चुर, रिसायो रियल मड्रिड !

एजेन्सी, मंसिर ५
वेल्स तथा स्पेनिस रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेल अहिले आफ्नो एक मजाकका कारण चर्चा र आलोचनामा छन् । दुई दिनअघि युरो कप छनौटअन्तर्गत अन्तिम खेलमा आफ्नो घरमा हंगेरीविरुद्धको खेल २–० ले जितेपछि बेल र उनका सहकर्मीले खुसीयाली मनाउनेक्रममा एक झण्डा प्रयोग गरेका थिए ।

हंगेरीलाई हराएर वेल्स अर्को वर्ष हुने युरो कपका लागि छनौट भएको थियो । त्यसकै अवसरमा वेल्सको टिमले खुसीयाली मनाएको थियो । सोक्रममा बेलले एक झण्डा बोकेर समूहसँग खिचाएको तस्बिरले अहिले बेललाई तनावमा पारेको छ । वेल्सको सो राष्ट्रिय झण्डामा लेखिएको छ– ‘वेल्स, गल्फ, मड्रिड : इन द्याट अर्डर’ ।

यो झण्डाले बेलका लागि सबैभन्दा महत्तवपूर्ण क्रमअनुसार वेल्स, त्यसपछि गल्फ खेल र अनि मात्रै रियल मड्रिड हो भन्ने बुझाउँछ । सो तस्बिरबाट बेलले आफूले व्यावसायिक फुटबल खेल्ने क्लबलाई आफूले मुड फ्रेस गर्न खेल्ने गल्फ खेलभन्दा पछाडि राखेर क्लबको प्रतिष्ठता र फुटबलप्रति ठूलो मजाक गरेको भनेर मिडियामा आलोचना बढेको छ । रियलका समर्थकहरूले पनि बेलले आफ्नो क्लबप्रति भद्दा मजाक गरेको भन्दै चर्को आलोचना गरेका छन् । त्यस्तै, रियल मड्रिड पनि आफ्ना स्टार खेलाडीको सो हर्कत र मजाकबाट बिच्किएको छ । रियलले बेलमाथि अनुशासनको कारबाही गर्ने खत्रा छ ।

बेलका लागि गल्फ मनोरञ्जनननिम्ति खेलिने खेल हो । रियलमा छँदा पनि उनी आराम गर्न वा मुड फ्रेस गर्नका लागि बेला–बेला गल्फ खेल्ने गर्छन् । केही समयअघि रियलका प्रशिक्षक जिनेदिन जिदान र बेलबीच क्लबमा टकराव बढेका बेला बेलले खेल्नै पाउन छाडेका थिए । त्यही बेला रियलले बेललाई बेच्ने तयारी गरेको थियो ।

तर, सोही बेला बेलले एक अन्तर्वार्तामा बोल्दै आफूले रियल नछाड्ने तर जिदानले खेल्न नदिए रियलमै गल्फ खेलेर बस्ने जवाफ दिएका थिए । तर, अहिले रियलमा बेल र जिदानको सम्बन्ध राम्रो बनेको छ ।

हालसम्म झण्डा काण्ड र मजाकबारे बेल आफैंले केही बोलेका छैनन् । रियलका समर्थकहरूले पनि बेलले सो विषयमा गल्ती स्वीकार गरेर माफी मागेर अवस्था सहज बनाउनुपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १६:३९
Loading...