चोटमुक्त भए नेइमार : मैदान उत्रिन तयार

एजेन्सी, मंसिर ५
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार चोटमुक्त भएका छन् । र, उनी मैदान उत्रिन फिट भएका छन् । यो कुरा नेइमार आफैंले बताएका छन् । एक महिनादेखि चोटका कारण उपचारसँगै आराम गरिरहेका नेइमार युरोपियन च्याम्पियनसअन्तर्गत लिग रियल मड्रिडविरुद्धको खेलबाट मैदान फर्किने बताएका छन् ।

फ्रेन्च मिडियाका अनुसार च्याम्पियन्स लिगमा रियलसँग खेल्नुअघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने सम्भावना छ । चोटकै कारण नेइमारर ब्राजिलको टोलीमा समेत थिएनन् ।

गत वर्ष पनि लामो समय चोटबाट गुज्रिएका नेइमार पटक–पटक घाइते हुँदा निराश छन् । यो सिजन पिएसजी घरेलु लिगसहित च्याम्पियन्स लिगसमेत जित्ने अभियानमा छ । अब नेइमार चोटमुक्त हुँदै मैदान फर्किन लागेपछि पिएसजी थप बलियो हुने अपेक्षा गरिएको छ ।

नेइमारमाथि यसअघि च्याम्पियन्स लिगमा प्रतिबन्ध रहेकाले अब रियल मड्रिडविरुद्धको खेलमा भने उनी उपलब्ध हुनेछन् । तीन खेलको प्रतिबन्ध लागे पनि युइएफएले केही समयअघि मात्रैै उनीमाथि एक खेलको प्रतिबन्ध घटाएको छ ।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार ११:३९
Loading...