असमझदारी हटाउन सार्री र रोनाल्डो ‘फेस टु फेस’ वार्ता गर्दै

एजेन्सी, मंसिर ५
पछिल्लो समय बढेको असमझदारी हल गर्न इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिसो सार्री र सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘फेस टु फेस’ वार्ता गर्ने तयारी गरेका छन् । दुई साताअघि रोनाल्डोलाई लगातार दुई खेलमा सब्सिच्युट गरिएको विषयले मिडियामा अनेक चर्चा र विवाद बढाएपछि क्लबले सो विषयलाई ‘क्लियर’ पार्न प्रयास थालेको छ ।

जसमा युभेन्टसका अध्यक्ष स्वयंले सार्री र रोनाल्डोलाई सोझो बैठक गराएर असमझदारी हल गराउन चाहेका छन् । इटालियन मिडियाका अनुसार रोनाल्डो र सार्रीबीच बिहीबार क्लबका अध्यक्षसहित सद्भावपूर्ण बैठक हुने तयारी रहेको खबर छापेका छन् ।

युरोपिन च्याम्पियन्स लिगमा गत नोभेम्बर ६ मा रोनाल्डोलाई सार्रीले लोकोमोटिभ मोस्कोविरुद्धको खेलमा ८२औं मिनेटमा सब्सिच्युट गरेका थिए । त्यसपछि लगत्तै घरेलु लिगमा एसी मिलानविरुद्धको खेलमा रोनाल्डोलाई ५५औं मिनेटमा सार्रीले पाउलो डिबाला पठाएर सब्सिच्युट गराएका थिए ।

मिलानविरुद्धको खेलमा ५५औं मिनेटमै मैदान छाड्नु परेपछि रोनाल्डो बेन्चमा नबसी सोझै ड्रेसिङ रुममा गएका थिए भने खेल सकिनुअघि नै रंगशाला छाडेर घर लागेका थिए । त्यसपछि मिडियामा एकाएक रोनाल्डो र सार्रीबीच असमझदारी बढेको भन्दै विभिन्न समाचार आउन थालेपछि रोनाल्डोको सब्सिच्युट ठूलै विषय बन्यो । मिलानविरुद्धको खेल सकिएपछि प्रशिक्षक सार्रीले रोनाल्डो पूर्ण रूपमा फिट नरहेकाले आफूले उनलाई दुई खेलमा सब्सिच्युट गरेको भन्दै आपसी सम्बन्ध बिग्रकेो वा असमभदारी रहेको भन्ने समाचारको खण्डन गरेका थिए ।

लगत्तै अन्तर्राष्ट्रिय ब्रेक भयो । र, रोनाल्डोले पोर्चुगलका लागि युरो कप छनौटमा दुई खेलबाट ४ गोल गर्दै प्रतियोगितामा छनौट गराउन महत्त्वपूर्ण योगदान दिए । उनले लिथुनियाविरुद्ध ह्याट्रिक गर्दै उत्कृष्ट लय देखाएका थिए । उनले त्यसपछि अन्तिम खेलमा लक्जेमबर्गविरुद्ध पनि गोल गरेका थिए ।

यो सिजन क्लब युभेन्टसमा सुरुआतबाटै संघर्ष गरिरहेका रोनाल्डोले पोर्चुगलका लागि शानदार प्रदर्शन गरेपछि प्रशिक्ष सार्रीले इटालीमा रोनाल्डोलाई प्रयोग गर्न नजानेको भन्दै आलोचना बढेको थियो । रोनाल्डो स्वयंले पनि लक्जेमबर्गविरुद्धको खेलपछि मिडियासँग बोल्दै युभेन्टसमा समस्या रहेको चर्चालाई इन्कार गरेका थिए ।

उनले युभेन्टसमा पछिल्लो साता आफू १०० प्रतिशत फिट नरहे पनि आफैं खेल्न तयार भएकाले सार्रीले आफूलाई अवस्थाअनुसारै सब्सिच्युट गरेको स्पष्टीकरण दिए । र, उनले युभेन्टसमा कुनै समस्या नरहेको विश्वास दिलाउन प्रयास गरे । रोनाल्डोको सो भनाइपछि युभेन्टसमा रोनाल्डो र सार्रीबीच बढ्ने सक्ने सम्भावित टकराव सेलाउने धेरैको बुझाइ छ ।

यसैक्रममा रोनाल्डो बुधबारबाटै युभेन्टस फर्किएका छन् । टुरिन फर्किएपछि पहिलो खेल खेल्नुअघि क्लबले प्रशिक्षकसँगको असमझदारी हटाउने उद्देश्यले बैठक गराउन लागेको हो । युभेन्टसले शनिबार आफ्नो घरमा सिरी ‘ए’ को १३औं खेल एट्लान्टासँग खेल्दैछ । युभेन्टस यो सिजन सबैखाले प्रतियोगितामा अपराजित छ । र, युरोपका टप–५ लिगमा युभेन्टस एक मात्रै अपराजित टिम हो ।

रोनाल्डोले यो सिजन युभेन्टसमा घरेलु लिगमा १० खेलबाट ५ गोल गरेका छन् भने १ गोलमा असिस्ट गरेका छन् । च्याम्पियन्स लिगमा ४ खेलबाट १ गोल गरेका छन् ।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १०:४२
Loading...