अन्तर्राष्ट्रिय गोलमा रोनाल्डो र मेस्सीबीचका यी पाँच ‘फरक तथ्य’, जुन धेरैलाई थाहा छैन

काठमाडौं, मंसिर ४
अर्को वर्ष हुने युरो कपका लागि भएको छनौट खेल सकिँदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको कूल अन्तर्राष्ट्रिय गोल संख्या ९९ पुगेको छ । युरो कप छनौटमा मात्रै उनले कूल ११ गोल गरे । उनी इंग्ल्यान्डका ह्यारी केनपछि दोस्रो सर्वाधिक गोलकर्ता हुन् । केनको १२ गोल छ । रोनाल्डोले पछिल्ला दुई खेलबाट ५ गोल गरेका थिए ।

यता, अर्जेन्टिनाका मेस्सीले यसपटक दुई मैत्रीपूर्ण खेलमा २ गोल गर्दा उनको कूल अन्तर्राष्ट्रिय गोल ७० पुगेको छ । उनले ब्राजिल र उरुग्वेविरुद्ध १–१ गोल गरेका हुन् । उनले गरेका दुवै मत्रीपूर्ण खेलका हुन् । तर, रोनाल्डोले गरेका ११ वटै गोल अफिसियल प्रतियोगिताका गोल हुन् ।

फुटबलको पछिल्लो दशक चर्चा र प्रतिस्पर्धाको केन्द्रमा रहेका रोनाल्डो र मेस्सीपछि क्लब फुटबलमा जस्तै अन्तर्राष्ट्रिय प्रदर्शन र तथ्यांक पनि प्रतिस्पर्धाको विषय बन्ने गर्छ । टिमका उपाधि र खेलाडीको सफलताको पाटोलाई छाडेर मेस्सी र रोनाल्डोको व्यक्तिगत तथ्यांक हेर्ने हो भने धेरै कुरामा रोनाल्डो अघि छन् भने केही कुरामा मेस्सी अघि छन् । यी दुई खेलाडीबीच अन्तर्राष्ट्रिय गोलमा रहेका केही तथ्य यस्ता छन्, जुन धेरैलाई थाहा नहुन सक्छ ।

तथ्य १ : रोनाल्डो २९ गोलले अघि

यो बेला सक्रिय खेलाडीमध्ये सर्वाधिक बढी अन्र्राष्ट्रिय गोल गर्ने खेलाडी पोर्चुगलका रोनाल्डो हुन् । उनले पोर्चुगलका लागि कूल ९९ गोल गरेका छन् । उनी १०० गोलबाट अब मात्रै १ गोलले टाढा छन् । यता, मेस्सी भने हाल सक्रिय खेलाडीमध्ये सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो नम्बरमा छन् । उनले अर्जेन्टिनाका लागि कूल ७० गोल गरेका छन् । मेस्सी रोनाल्डोभन्दा २९ गोलले पछि छन् । मेस्सीले १५ वर्षमा गरेको गोल संख्यालाई अंकगणितीय रूपमा हेर्दा उनलाई रोनाल्डोको हालको ९९ गोल संख्या भेट्न मात्रै पनि अब कम्तीमा ५ वर्ष लाग्छ । मेस्सीभन्दा अघि दोस्रो नम्बरमा भारतका कप्तान सुनील क्षेत्री छन्, उनले भातरका लागि ७२ गोल गरेका छन् ।

तथ्य २ : खेल संख्या

रोनाल्डोले पोर्चुगलका लागि कूल १६४ खेलबाट ९९ गोल गरेका हुन् । मेस्सीले ७० गोल गर्न १३८ खेल खेलेका छन् । रोनाल्डोले मेस्सीको भन्दा २६ खेल बढी खेलेर २९ गोल बढी गरेका छन् ।

तथ्य ३ : अफिसियल गोलमा रोनाल्डो अघि

रोनाल्डोले देशका लागि गरेका कूल ९९ गोलमध्ये १७ गोल मात्रै मैत्रीपूर्ण खेलमा गरेका छन् भने बाँकी ८१ गोल अफिसियल प्रतियोगितामा गरेका छन् । जबकि, मेस्सीले अर्जेन्टिनाका लागि गरेका ७० गोलमध्ये उनले करिब आधा नै मैत्रीपूर्ण खेलमा गरेका छन् । उनले ३४ गोल मैत्रीपूर्ण खेलमा गर्दा ३६ गोल मात्रै अफिसियल खेलमा गरेका छन्, जबकि रोनाल्डोको ८१ गोल छ ।

तथ्य ४ : अफिसियल गोलमा रोनाल्डोको रेकर्ड

रोनाल्डो विश्व फुटबल इतिहासमै सर्वाधिक बढी अफिसियल गोल गर्ने खेलाडी हुन् । यसअघि सो रेकर्ड इरानका अली डेईको नाममा थियो । उनले १०९ गोलमध्ये ७४ गोल अफिसियल प्रतियोगितामा गरेका थिए । तर, अहिले रोनाल्डोले उनको रेकर्ड भंग गर्दै आफ्नो अफिसियल गोल संख्या ८१ पुर्याएका छन् । फिफाको तथ्यांकअनुसार मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा १४ औं स्थानमा छन् तर अफिसियल गोलकर्तामा भने टप–३० सूचीमा पनि छैनन् । जबकि, रोनाल्डो १ नम्बरमा छन् ।

तथ्य ५ : ठूला टिमविरुद्ध मेस्सीको गोल बढी

अधिकांश अन्तर्राष्ट्रिय तथ्यांकमा रोनाल्डो मेस्सीभन्दा शानदार रहे पनि एकमा भने मेस्सी रोनाल्डोभन्दा धेरै अघि छन् । त्यो हो– गोलको वरीयता । फिफाको तथ्यांकअनुसार रोनाल्डोले गरेका कूल ९९ गोलमध्ये करिब ९ प्रतिशत मात्रै उनले फिफा वरीयताका टप–१० विरुद्ध गरेका छन् । जबकि, मेस्सीले गरेका कूल गोलमध्ये करिब २७ प्रतिशत गोल टप–१० टिमविरुद्ध गरेका छन् । अर्थात्, रोनाल्डोले गरेका धेरै गोल साना टिमविरुद्ध छन् । त्यसको तुलनामा मेस्सीले रोनाल्डोको भन्दा बढी गोल ठूला टिमविरुद्ध गरेका छन् ।

यता, फिफाकै तथ्यांकअनुसार टप–५० टिमविरुद्ध रोनाल्डो र मेस्सीको गोल संख्या हेर्दा पनि मेस्सी नै अघि छन् । मेस्सीले गरेका कूल ७० गोलमध्ये ५७ गोल टप–५० टिमविरुद्ध गरेका गोल छन् । यो प्रशितका हिसाबले ८३ प्रतिशत हुन्छ । तर, रोनाल्डोले गरेका ९९ गोलमध्ये मात्रै २८ गोल टप–५० टिमविरुद्ध छन् । यो प्रतिशतमा ३० प्रतिशत मात्रै हुन्छ ।

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार १२:४३
Loading...