टुंगियो ब्राजिलको जितविहीन यात्रा : छैटौं खेलमा कोरियामाथि प्रभावशाली जित

काठमाडौं, मंसिर ३
आफ्नो भूमिमा आयोजित कोपा अमेरिका–२०१९ को च्याम्पियन ब्राजिलको लामो जितविहीन यात्रा टुंगिएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत एसियन देश साउथ कोरियालाई ३–० ले हराएसँगै ब्राजिलको ४ महिना लामो जितविहीन यात्रामा पूर्णविराम लागेको हो ।

ब्राजिलले गत जुलाई ८ तारिखमा आफ्नो घरमा कोपाको फाइनल खेलमा पेरूलाई ३–१ ले हराएयता कुनै पनि खेल जितेको थिएन । त्यसयता उसले खेलेका पाँच खेलमा ब्राजिल लगातार जितविहीन थियो । जसमा ऊ तीन खेलमा बराबरीमा रोकिएको थियो भने दुई खेल हारेको थियो ।

तर, मंगलबार दुबईमा कोरियाविरुद्ध उत्रिँदा नेइमारबिनाको ब्राजिलले प्रभावशाली जित निकाल्यो । त्यसअघि आफ्नो खास प्रतिस्पर्धी अर्जेन्टिनासँग साउदी अरेबियामा १–० ले हारेको ब्राजिललाई कोरियामाथिको जितले राहत दिएको छ ।

कोरियाविरुद्ध ब्राजिललाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । खेलको नवौं मिनेटमा ब्राजिलले युवा खेलाडी लुकास पाक्वेटाको गोलबाट अग्रता लिएको थियो । उनले रेनान लोडीको पासमा गोल गरेका थिए ।

त्यसपछि ब्राजिलले खेलको ३६औं मिनेटमा अग्रता दोब्बर बनायो । जहाँ फिलिपे कोउटिन्होले शानदार फ्रि किक गोल गरे । बक्सभन्दा केही दूरीबाट उनले होनको फ्रि किक प्रहारले सोझै जाली चुमेको थियो ।

सो फ्रि किक गोल ब्राजिलले ५ वर्षपछि पहिलोपटक फ्रि किकमा गरेको गोल थियो । यसअघि सन् २०१४ मा ब्राजिल र कोलम्बिया भिड्दा नेइमारले फ्रि किकमा गोल गरेयता ब्राजिलका कुनै पनि खेलाडीले फ्रि किकमा सोझै गोल गर्न सकेका थिएनन् ।

पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलका लागि दोस्रो हाफमा ड्यानिलोले शानदार गोल हाने । बक्स भित्रबाट लोडीले दिएको पासमा ड्यानिलोले बक्स बाहिरबाटट हानेको कडा प्रहारले सोझै जाली चुमेपछि ब्राजिल सहज जिततर्फ अघि बढेको थिथो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि कोरियाले भने गोल निकाल्न सकेन । ब्राजिलकै बराबरी पोस्ट आक्रमण गरे पनि ब्राजिलका गोलकिपर एलिसन बेकरले शानदार प्रदर्शन गर्दा कोरिया पटक–पटक गोल गर्नबाट असफल भएको थियो ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार २१:०९
Loading...