खेलाडीबीच भनाभन– मेस्सी काभानीसँग जुनसुकै बेला कुस्ती खेल्न तयार !

काठमाडौं, मंसिर ३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा गत राति अर्जेन्टिना र उरुग्वेले २–२ को बराबरी खेले । खेलमा उरुग्वेले दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा आफ्नो खास प्रतिस्र्धीविरुद्ध ६ वर्षपछि जितका मुखैमा पुगेर चुक्यो ।

उरुग्वेले काभानीको गोलबाट ३४औं मिनेटमा अग्रता लिएको थियो । तर, ६३औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । फेरि खेलको ६८औं मिनेटमा लुइस स्वारेजले फ्रि किकमा सुन्दर गोल गर्दै उरुग्वेलाई लिड दिएका थिए ।

तर, खेलको इन्जुरी समयमा अर्जेन्टिनाले पेनाल्टी पाएपछि कप्तान लिओनल मेस्सीले गोल गर्दै टिमलाई हारबाट जोगाउँदा खेल २–२ मा टुंगियो ।

सो खेल दौरान अर्जेन्टिनाका कप्तान मेस्सी र उरुग्वेका काभानीबीच भनाभन भएको थियो, जुन विषय अहिले चर्चामा छ । गोल गरेको ४ मिनेटपछि मेस्सीसँग काभानीको चर्को गरी भनाभन भएको थियो । सोही विषयमा रेफ्रीले काभानीलाई पहेंलो कार्डसमेत दिएका थिए ।

मेस्सीमाथि उरुग्वेका अन्य खेलाडीले फउल गरेका थिए । तर, विवाद भने मेस्सी र काभानीबीच भयो । त्यसअघि मेस्सीले काभानीमाथि एकपटक फउल गरेका थिए । तर, रेफ्रीले कुनै एक्सन नलिँदा काभानी रेफ्रीमाथि नै आक्रोशित बनेका थिए ।

फउलको विषयलाई लिएर दुई खेलाबीच विवाद चलिरहँदा काभानीले मेस्सीलाई ‘के तिमी मसँग कुस्ती खेल्ने हो ?’ भनेर सोधेका थिए । अर्जेन्टिनी मिडिया ‘ओले’ ले दुई खेलाडीबीचको भनाभनको संवाद प्रकाशित गर्दै सो कुरा उल्लेख गरेको छ ।

सो फउलको विषयमा मेस्सी काभानीप्रति अनावश्यक आक्रामक देखिएपछि काभानीले मेस्सीलाई ‘तिमी मसँग कुस्ती खेल्ने हो’ भनेर सोधेका थिए । मेस्सी पनि के कम ! उनले काभानीलाई कडा रूपमा ड्यास दिए । उनले काभानीलाई ‘तिमीले जहिले भन्छौ, त्यहीबेला म तयार छु’ भनेर जवाफ फर्काइदिए । त्यसो भन्दा काभानी मेस्सीको मजाक उडाउँदै हाँसिरहेका थिए ।

यता, बार्सिलोनाका सहकर्मी लुइस स्वारेज भने मेस्सीलाई च्यापेर सम्झाउन प्रयास गरिरहेका थिए । तर, मेस्सी र काभानीबीच घम्साघम्सी हुन लागेपछि रेफ्रीले हस्तक्षेप गरेका थिए । लगत्तै रेफ्रीले काभानीलाई पहेंलो कार्ड दिए भने मेस्सीलाई चेतावनी मात्रै दिए । अहिले यो खबर अन्तर्राष्ट्रिय खेल मिडियामा भाइरल बनिरहेको छ ।

यसअघि ब्राजिल र अर्जेन्टिनाको खेलमा पनि कप्तान मेस्सीले ब्राजिलका प्रशिक्षक टिटेलाई हप्काएको खबर चर्चामा रह्यो । सो खेलमा मेस्सीले टिटेलाई ‘तिम्रो मुख बन्द राख’ भनेर हप्काएको भनेर टिटे स्वयंले पत्रकार सम्मेलनमा बताउँदै मेस्सीले कार्ड पाउनुपर्ने दाबी गरेका थिए ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १५:५५
Loading...