अन्तर्राष्ट्रिय गोलमा पेलेको दुर्लभ रेकर्ड नजिक मेस्सी

काठमाडौं, मंसिर ३
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा गत राति अर्जेन्टिना र उरुग्वे भिड्दा रोमाञ्चक खेल २–२ को बराबरीमा सकियो । खेलमा दुईपटक पछि परेको अर्जन्टिनाले इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गर्दै हार पन्छााएको थियो ।

उरुग्वेका लागि इडिसन काभानीले १ गोल गर्दा सो गोलमा असिस्ट गरेका लुइस स्वारेजले दर्शनीय फ्रि किक गोल गरेका थिए । यता, अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले सर्जियो अगुएरोको गोलमा असिस्ट गरे भने इन्जुरी समयमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए ।

गत रातिको १ गोलसँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल ७० पुगेको छ । यो अफिसियल र मैत्रीपूर्ण दुवैखाले प्रतियोगिताको गोल हो । सो गोलसँगै मेस्सी अब ब्राजिलका लिजेन्ड खेलाडी पेलेको एक रेकर्ड नजिक पुगेका छन् ।

मेस्सी अब दक्षिण अमेरिकी क्षेत्रबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा ७० वा सोभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । ब्राजिलका पेलेले आफ्नो करिअरमा कूल ७७ गोल देशका लागि गरेका थिए । हालको अवस्थामा सो महादेशबाट अन्तर्राष्ट्रिय मञ्चमा सर्वाधिक बढी गोल गर्ने रेकर्ड पेलेको नाममा छ ।

तर, ७० वा सोभन्दा बढी गोल गर्ने खेलाडी भने अब पेले र मेस्सी मात्रै बनेका छन् । अब मात्रै ७ गोल गरे मेस्सीले पेलेको सो रेकर्ड बराबरी गर्नेछन् भने ८ गोलले उनले सो रेकर्ड भंग गर्नेछन् ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार ११:५७
Loading...