विश्वकप छनौट : नेपाल आज कुवेतसँग भिड्दै, ७–० को बदला लिने अवसर

काठमाडौं, मंसिर ३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी एसियन क्षेत्रको दोस्रो चरणको छनौट खेलअन्तर्गत नेपालले आज आफ्नो पहिलो होम म्याच कुवेतसँग खेल्दैछ । यसअघि सबै अवे खेल खेलिसकेको नेपालले पहिलो होम म्याच पाहुना टोली कुवेतसँग खेल्न लागेको हो ।

तर, यो खेल नेपाली भूमिमा नभएर भुटानमा हुँदैछ । नेपालमा विश्वकपका छनौट खेल खेलाउन मापदण्ड पूरा भएको एक मात्रै दशरथ रंगशालाको पुनर्निर्माण कार्य नसकिएर तयार नभएकाले न्युट्रल भेन्युका रूपमा खेल भुटानमा खेलाइँदैछ । यसका लागि एएसफी र फिफाले समेत स्वीकृति दिएका छन् ।

घरबाहिर हुने आफ्नो पहिलो होम म्याच कुवेतसँग खेल्दा नेपाल आज चर्को दबाबमा हुनेछ । विश्वकप छनौटमा सम्भावना जीवितै राख्न नेपाललाई आजको खेलमा जित आवश्यक छ ।

नेपालले यसअघि कुवेतसँग उसको घरेलु मैदानमा ७–० को फराकिलो अन्तरमा हार व्यहोरेको थियो । तुलनात्मक रूपमा नेपालभन्दा बलियो कुवेतविरुद्ध बाहिरको भूमिमा भिड्दा नेपाल दबाबमा हुनेछ । खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ ।

समूह ‘बी’मा रहेको नेपाल ४ खेलपछि हाल ४ अंकसहित चौथो स्थानमा छ । कुवेत ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा अस्ट्रेलिया छ ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार १०:५९
Loading...