अर्जेन्टिनालाई मेस्सीले जोगाए हारको मुखबाट : उरूग्वेको जितमा पेनाल्टी तगारो

काठमाडौं, मंसिर ३
इन्जुरी समयमा कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् गोल गरेपछि अर्जेन्टिना उरुग्वेसँग हारको मुखैमा पुगेर बचेको छ । नेपाली समयअनुसार मंगलबार बिहान इजरायलमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले दुईपटक पछि परेको स्थिति उल्टाएर खेल २–२ को बराबरीमा टुंगायो ।

अन्तिम मिनेट सम्हालिन नसक्दा उरुग्वेले पेनाल्टी गोल खानु परेको थियो । यो बराबरीसँगै उरुग्वे आफ्नो खास प्रतिस्पर्धीविरुद्ध ६ वर्षपछि जितको नजिक पुगेर पनि वञ्चित हुनु परेको छ ।

निकै घम्साघम्सी र प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले इडिसन काभानीको गोलबाट सुरुआती अग्रता लिएको थियो । ३४औं मिनेटमा काभानीले सुन्दर मुभमा लुइस स्वारेजले दिएको पासमा पोस्टकै अघिबाट स्लिप गर्दै बललाई जाली चुमाएपछि उरुग्वेले खेलमा अग्रता लिएको थियो । सोही गोलको मदतमा उरुग्वे पहिलो हाफमा १–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो । सुरुआतबाटै बराबरी गोलको खोजीमा रहेको अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीको लगातार दुई फ्रि किक सही निशानामा लागे पनि उरुग्वेका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । तर, अर्जेन्टिना खेलको ६३औं मिनेटमा खेलमा फर्कियो ।

जहाँ बक्सको तल्लो भागबाट कप्तान मेस्सीले हानेको फ्रि किकमा बक्समा तैनाथ सर्जियो अगुएरोले हेडिङमार्फत् सुन्दर फिनिसिङमा गोल गरेपछि खेल १–१ भयो । तर, अर्जेन्टिना खेलमा धेरैबेर टिकेन ।

बराबरी गोल गरेको ५ मिनेटमै उरुग्वेका लागि स्वारेजले गोल हाने । उनले बक्स नजिकैबाट हानेको शक्तिशाली फ्रि किक प्रहारले अर्जेन्टिनाको गोलकिपरको हात छिचोल्दै जाली चुमेपछि खेलमा उरुग्वेले २–१ को लिड लियो । त्यसपछि जितको नजिक पुगेको उरुग्वे अन्तिम समयमा रोकियो ।

निर्धारित ९० मिनेटपछि थपिएको ५ मिनेटको दोस्रो मिनेटमा उरुग्वेका खेलाडीले बक्समा ह्यान्ड बल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए । जसमा मेस्सीले सहजै गोल गरेपछि खेल २–२ मा टुंगियो ।

यदि आज उरुग्वेले जित निकालेको थियो भने यो उसका लागि आफ्नो खास प्रतिस्पर्धी अर्जेन्टिनाविरुद्ध ६ वर्षको जित हुने थियो । उरुग्वले अर्जेन्टिनालाई अन्तिम पटक सन् २०१३ को अक्टोबरमा विश्वकप छनौट खेलमा हराएयता हराउन सकेको छैन ।

प्रकाशित मिति ३ मंसिर २०७६, मंगलवार ०३:०४
Loading...