ग्रीजम्यानको निराशा– ‘बार्सिलोना खेल्न सहज क्लब होइन’

एजेन्सी, मंसिर २
फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान यतिबेला राष्ट्रिय टोली मात्रै नभएर क्लब बार्सिलोनामा पनि लयमा फर्किन संघर्ष गरिरहेका छन् । उनी क्लब र देशका लागि गरी पछिल्ला १२ खेलमा लगातार गोलविहीन थिए ।

तर, गत राति युरो कपअन्तर्गत अन्तिम छनौट खेलमा फ्रान्सले अल्बानियालाई ०–२ ले हराउँदा ग्रीजम्यानले प्रभावशाली प्रदर्शन गर्दै १ गोल गरे भने १ गोलका लागि सुन्दर असिस्ट गरेका थिए ।

यसैक्रममा उनले बार्सिलोनामा फिट हुन कठिन भइरहेको आफैंले स्वीकार गरेका छन् । अल्बानियासँगको खेलपछि मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसै सिजन एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना पुगेका उनले नयाँ टिम र क्लबमा आफूलाई समस्या परिरहेको बताए ।

‘यो खेल्नका लागि सबैभन्दा सहज ठाउँ होइन । नयाँ क्लब, कठिन क्लब र नयाँ रणनीति छ । म लयमा फर्किन मेहनत गरिरहेको छु,’ ग्रीजम्यानले भनेका छन्, ‘म अब यहाँबाट गएर नयाँ ढंगले टिममा सहभागी हुनेछु ।’

ग्रीजम्यानले आफू रहेको क्लबमा लामो समयसम्म रहन कडा मेहनत गरिरहने बताए । ‘तर, म जहाँ छु, त्यसमा गर्व छ । र, त्यहाँ बसिरहन थप मेहनत गर्नेछु,’ ग्रीजम्यानले भने, ‘मैले क्लबको विश्वास जित्नु छ । र, त्यसका लागि म तयार छु ।’

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार २१:३३
Loading...