विश्वकप छनौट : नेपालले कुवेतबाट ३ अंक जितेरै छाड्ने !

काठमाडौं, मंसिर २
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि अहिले एसियन क्षेत्रमा दोस्रो चरणको छनोट खेल जारी छ । जसमा नेपालले भोलि (मंसिर ३ गते) होम म्याचअन्तर्गत पहिलो खेल कुवेतसँग खेल्दैछ । सो खेल नेपालमा हुनुपर्ने भए पनि काठमाडौंस्थित दशरथ रंगशाला तयार नभएकाले एएफसी र फिफाको निर्णयअनुसार ‘न्युट्रल भेन्यु’का रूपमा भुटानमा खेलाइँदैछ ।

नेपाली टोली दुई दिनअघि नै सो खेलका लागि भुटान पुगिसकेको छ । नेपालले मंगलबार थिम्पुमा कुवेतको सामना गर्दै स्पष्ट जितका लागि संघर्ष गर्नेछ । नेपाल यसअघि अवे म्याचअन्तर्गत कुवेतको घरमा ७–० ले पराजित भएको थियो ।

तुलनात्मक रूपमा नेपालभन्दा बलियो कुवतेविरुद्ध उत्रिनुअघि नेपाली टिमका विदेशी प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेल आफूहरूका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै स्पष्ट अंक जित्न प्रयास गर्ने बताएका छन् । ‘हामी यस खेलका लागि तयार छौं । हामी अघिल्ला खेलहरूभन्दा यस खेलमा राम्रो तयारी अवस्थामा छौं,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कालिनले भने, ‘हाम्रा लागि यो होम म्याच हो । र, स्पष्ट अंक जित्नु हाम्रो लक्ष्य हुनेछ ।’

कालिनले कुवेत बलियो टिम भए पनि खेलमा सधैं एकनाश नहुने बताए । ‘उनीहरू हामीभन्दा बलिया टिम हुन् । यसअघि उनीहरूको घरमा हामीले ठूलो अन्तरको हार भोग्यौं । तर, अहिले हामीले सुधारिएको तयारी गरेका छौं । मेरा खेलाडी उच्च मनोलबका साथ यो खेल खेल्न तयार छन्,’ कालिनले भने, ‘फुटबलमा सधैं एकनाश हुँदैन । यसपटक हामी फरक नतिजा निकाल्न प्रयास गर्नेछौं ।’

छनौट प्रतियोगितामा नेपाल ‘समूह बी’ मा छ । नेपाल हाल मात्रै ४ अंक जोडेर चौथो स्थानमा छ । ७ अंक भएको कुवेत दोस्रो स्थानमा छ ।

भुटान उड्नुअघि नेपाल फुटबल संघ (एन्फा) ले टोलीका प्रमुख ४ जना खेलाडीलाई कारबाही गरेर टोलीबाट निकालेकाले कुवेतविरुद्ध नेपाली टिमलाई कठिन पर्न सक्ने अनुमान गएिको छ । स्टार फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीमाथि एन्फाले अनुशासनको कारबाही गरेर टोलीबाहिर बनाएको थियो ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार १६:५७
Loading...