कोसोभोमाथि इंग्ल्यान्डको शानदार जित : केनले बढाए गोल

काठमाडौं, मंसिर २
कप्तान तथा स्टार फरवार्ड ह्यारी केनले लगातार गोल गरेपछि युरो कप छनौटमा इंग्ल्यान्डले अन्तिम खेलमा पनि जित निकालेको छ । गत राति भएको खेलमा इंग्लिस टिमले कोसोभोलाई उसकै घरेलु मैदानमा ०–४ ले निराश बनायो ।

आफ्नो घरमा कोसोभोले उत्कृष्ट प्रदर्शन गरे पनि खराब नतिजा भोग्न बाध्य भयो । खेलमा कोसोभोले इंग्ल्यान्डको पोस्टमा १२ पटक आक्रमण गर्दा इंग्ल्यान्डले १३ पटक हानेको थियो । तर, कोसोभोले गोल निकाल्न सकेन ।

इंग्ल्यान्डका लागि खेलको ३२औं मिनेटमा ह्यारी विन्ङ्सले पहिलो गोल गरेका थिए । त्यसपछि बाँकी ३ गोल इंग्ल्यान्डले खेलको अन्तिम समयमा गरेको थियो । जहाँ ७९औं मिनेटमा केनले गोल गरे भने ८३औं मिनेटमा मार्कुस रासफोर्डले गरे । फेरि खेलको इन्जुरी समयमा मासोन मोउन्टले गोल गरेपछि खेल इंग्ल्यानडले ०–४ ले जित्यो ।

इंग्ल्यान्ड यसअघि नै समूह ‘ए’बाट युरो कपमा छानिइसकेको छ भने चेक रिपब्लिक पनि छनौट भइसकेको छ । इंग्ल्यान्डसँग पराजित कोसोभो भने ११ अंकसहित तेस्रो स्थानमा मात्रै रह्यो ।

अन्तिम खेलमा १ गोल गरेसँगै केन हालसम्म युरो कप छनौटको सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । उनले कूल १२ गोल गरेका छन्, जसमा ४ पेनाल्टी गोल सामेल छ । दोस्रो नम्बरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ११ गोलसहित रहँदा इजरायलका इरान जहाबीले पनि ११ गोल नै गरेका छन् । उनको टिमले एक खेल खेल्नै बाँकी छ ।

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार ०७:४७
Loading...