लक्जेमबर्गका फ्यानले ‘मेस्सी–मेस्सी’ भन्दै रोनाल्डोको मजाक उडाएपछि ……

एजेन्सी, मंसिर १
युरो कप छनौटअन्तर्गत अन्तिम खेलमा लक्जेमबर्ग र पोर्चुगलको खेल चलिरहँदा लक्जेमबर्गका घरेलु समर्थकहरूले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको मजाक उडाएका छन् । आइतबार अर्को वर्ष हुने युरो कप छनौटको लक्ष्य लिएर अन्तिम खेल खेल्न लक्जेमबर्गको घरेलु मैदानमा उत्रिएको पोर्चुगलले घरेलु टोलीलाई ०–२ ले हराएर प्रतियोगितामा स्थान बनायो ।

पोर्चुगलको जितमा बुर्नो फर्नान्डेज र कप्तान रोनाल्डोले गोल गरे । फर्नान्डेजले खेलको ३९औं मिनेटमा पहिलो गोल गरेका थिए भने रोनाल्डोले ८५औं मिनेटमा गोल गरेका थिए । यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या ९९ पुगेको छ ।

खेलमा सुरुआतबाटै गोलको खोजीमा रहेका रोनाल्डोका दुई प्रहार गोलकिपरले बचाए । उनको एक प्रहार अफ् टार्गेट रह्यो । उनले दुई फ्रि किकमा एक टार्गेटमा हाने । गोलको खोजीमा संघर्षरत रोनाल्डोविरुद्ध पहिलो र दोस्रो हाफमा पनि लक्जेमबर्गका खेलाडीले ‘मेस्सी–मेस्सी’भन्दै मजाक गरे ।

रोनाल्डो बल थ्रो गर्न लाइननजिकै पुगेका बेला घरेलु समर्थकले बार्सिलोना तथा अर्जेन्टिनाका खेलाडीको नाम लिँदै रोनाल्डोको मजा उडाएका थिए । तर, रोनाल्डोले कुनै प्रतिक्रिया जनाएनन् ।

पछि खेलको ८५औं मिनेटमा गोल गर्दै रोनाल्डोले आफ्नो मजाक उडाउने समर्थकहरूलाई गतिलो जवाफ मात्रै दिएनन्, लम्जेमबर्गलाई आफ्नै घरमा ०–२ को हार चखाउन योगदानसमेत दिए ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार २२:३९
Loading...