पोर्चुगल युरो कपमा छनौट : रोनाल्डोको खातामा ९९ गोल !

काठमाडौं, मंसिर १
कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गोल गर्दै आफ्नो खातामा ९९ अन्तर्राष्ट्रिय गोल बनाउँदा साबिक च्याम्पियन पोर्चुगल अर्को वर्ष हुने युरो कपका लागि छनौट भएको छ । आज भएको अन्तिम छनौट खेलमा पोर्चुगलले लक्जेमबर्गलाई उसकै घरेलु मैदानमा ०–२ ले स्तब्ध बनाउँदै प्रतियोगितामा औपचारिक रूपमै छानिन सफल भयो ।

निकै खराब मैदानमा पोर्चुगललाई जिताउन बुर्नाे फर्नान्डेज र रोनाल्डोले १–१ गोल गरे । घरेलु टोलीले पाहुना टोली पोर्चुगलमाथि लगातार आक्रमण गरेर दबाब बढाए पनि गोल भने पाहुना टोलीले गर्न सफल भयो ।

खेलको ३९औं मिनेटमा पोर्चुगलका लागि फर्नाडेजले पहिलो गोल गरेर भ्रमणकारी टोलीलाई ०–१ को अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले जित निश्चित गर्न खेलको ८६औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो ।

रोनाल्डोले टच लाइनबाट बललाई पोस्टको दिशा दिएपछि खेल पोर्चुगलले ०–२ ले जित्यो । यससँगै पोर्चुगल समूह ‘बी’बाट १७ अंकका साथ दोस्रो स्थानमा रहेर प्रतियोगितामा छानिन सफल भएको छ ।

आजको गोलसँगै रोनाल्डोले अन्तर्राष्टिन्य प्रतियोगितामा गरेको कूल गोल संख्या ९९ पुगेको छ, जुन कुनै पनि सक्रिय खेलाडीमध्ये सर्वाधिक बढी हो । रोनाल्डो अब १०० गोलको कोसेढुंगाबाट १ र सर्वाधिक गोलको रेकर्ड भंग गर्नबाट मात्रै १० गोलले टाढा छन् ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार २१:५३
Loading...