आफ्ना प्रशिक्षक ‘हप्काउने’ मेस्सीलाई सिल्भाको डाइलग– ‘पहिला शिक्षा आवश्यक छ’

एजेन्सी, मंसिर १
आफ्ना प्रशिक्षक टिटेलाई खेल दौरान ‘हप्काउने’ अर्जेन्टिनाका कप्तान लिओनल मेस्सप्रति ब्राजिलका कप्तान थियागो सिल्भाले आक्रोशित प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनी कप्तानको हर्कतको खरो आलोचना गर्दै सिल्भाले घुमाउरो पारामा मेस्सीले पहिला शिक्षा लिनुपर्ने आवश्यकता रहेको भन्दै कडा जवाफ दिएका छन् ।

दुई दिनअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो । अर्जेन्टिनालाई आफ्नो कट्टर प्रतिस्पर्धी ब्राजिलविरुद्ध जिताउन मेस्सीले नै विजयी गोल गरेका थिए ।

तर, खेल दौरान मेस्सीले ब्राजिलका ५८ वर्षीय प्रशिक्षक टिटेलाई ‘तिम्रो मुख बन्द राख’ भनेर गाली गरेका थिए । मेस्सीले टिटेलाई गाली गर्दै गरेको भिडियो फुटेज अहिले सामाजिक सन्जालहरूमा भाइरल बनिरहेको छ ।

खेलपछि टिटे आफैंले पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले आफूलाई ‘तिम्रो मुख बन्द राख’ भनेर आक्रोशपूर्ण तरिकाले धम्क्याएको भन्दै मेस्सीमाथि कारबाही हुनुपर्ने बताएका थिए । टिटेले पत्रकार सम्मेलनमा बोलेपछि मात्रै मेस्सीसँगको भनाभनबारे सिल्भाले थाहा पाएका थिए ।

खेलपछि सिल्भाले मिडियासँग बोल्दै मेस्सीको आलोचना मात्रै गरेनन्, उनलाई खेल्नुभन्दा पहिला शिक्षा लिनसमेत सुझाव दिए । ‘टिटेसँगको टकराव मैले खेल सकिएपछि मात्रै थाहा पाएँ,’ सिल्भाले भनेका छन् ।

सिल्भाले खेलमा मेस्सीले खराब आचरण देखाएको भन्दै आपत्ति जनाए । ‘उनी पूरै खेलमाथि शासन गर्न चाहन्थे । उनले नियोजित रूपमा हाम्रा दुई खेलाडीलाई लडाए । तर, रेफ्रीले केही गरेनन्,’ सिल्भाले भने ।

‘स्पष्ट रूपमा यो देखिन्थ्यो कि, उनले रेफ्रीलाई खेलभरि दबाब दिए । उनको तरिका देखेर म हाँसें मात्रै,’ सिल्भाले थपे ।

सिल्भाले घुमाउरो पारामा मेस्सीलाई पहिला शिक्षा लिन सुझावसमेत दिए । ‘प्रतिस्पर्धी जो भए पनि खेल आचरण मुख्य हो । त्यसका लागि पहिला शिक्षा आवश्यक छ,’ सिल्भाले मेस्सीप्रति लक्षित गर्दै भने ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ११:३५
Loading...