युरो कप छनौटमा वेल्सको महत्त्वपूर्ण जित : छनौट हुन अन्तिम खेल जित्नैपर्ने

काठमाडौं, मंसिर १
स्टार खेलाडी ग्यारेथ बेलको टोली वेल्सले युरो कप छनौट खेलमा महत्त्वपूर्ण जित निकालेको छ । गत राति भएको खेलमा वेल्सले अजरबैजानलाई उसकै घरेलु मैदानमा ०–२ ले हरायो ।

अवे मैदानमा वेल्सलाई जिताउन खेलको १०औं मिनेटमा किफर मोरेले पहिलो गोल गरेका थिए । उनले ह्यारी विल्सनको पासमा निकै सुन्दर फिनिसिङमा गोल गरेका थिए ।

खेलमा दबाब बनाएर खेलेको वेल्सले त्यसपछि खेलको ३४औं मिनेटमा अग्रता दोब्बर बनायो । सो गोल मिडफिल्डर ह्यारी विल्सनले गरेका थिए ।

त्यसपछि बाँकी समया दुवै टोलीबाट थप गोल भएन । र, खेल वेल्सले ०–२ ले जित्यो । यो जितसँगै वेल्सले युरो कपमा छनौट सम्भावना बढाएको छ । तर, त्यसका लागि अन्तिम खेलमा हंगेरीमाथि स्पष्ट जित निकाल्नैपर्छ । छनौटको अन्तिम खेलमा वेल्स र हंगेरी भिड्नेछन् ।

हाल अंक तालिकामा हंगेरी ७ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ । वेल्स ११ अंकसहित तेस्रोमा छ । यदि अन्तिम खेलमा वेल्सले हंगेरीमाथि जित निकाले वेल्स दोस्रो स्थानमा रहेर प्रतियोगितामा छानिनेछ ।

तर, यदि वेल्स हंगेरीसँग पराजित भए वा बराबरीमा रोकियो र यता अर्को खेलमा स्लोभाकियाले अन्तिम खेलमा अजरबैजानमाथि स्पष्ट जित निकाले वेल्सलाई झट्का लाग्नेछ । यदि वेल्सले हंगेरीमाथि स्पष्ट जित निकाल्न नसकेको अवस्थामा स्लोभाकियाले आफ्नो खेल जिते ऊ वेल्सलाई १ अंकले पछि पार्दै प्रतियोगितामा छानिनेछ ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ०९:३४
Loading...