युरो कप छनौटमा बेल्जियमको शतप्रतिशत जित : हाजार्ड दाजु–भाइकै गोल

काठमाठौं, मंसिर १
हाजार्ड दाजु–भाइ थ्रोगान र इडेनले एकै खेलमा गोल गरेपछि युरो कपमा बेल्जियमले रसियामाथि शानदार जित निकाल्दै शतप्रतिशत जितको यात्रा कायमै राखेको छ । गत राति भएको खेलमा बेल्जियमले रसियालाई उसकै घरेलु मैदानमा १–४ ले निराश बनायो ।

बेल्जियमलाई अवे मैदानमा जिताउन हाजार्ड एक्लैले २ गोल गर्नुका साथै १ गोलमा असिस्ट गरे । उनका भाइ थ्रोगान हाजार्डले इडेनकै पासमा गोल गरेका थिए । अर्को १ गोल रोमेलु लुकाकुले गरे ।

बेल्जियमले खेलको १९औं मिनेटमा थ्रोगानको गोलबाट अग्रता लिएको थियो । उनले आफ्ना दाजु इडेन हाजार्डको पासमा निकै सुन्दर गोल गरेका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा बेल्जियमले दोस्रो गोल हान्यो । यसपटक इडेन हाजार्डले लुकाकुको पासमा गोल गरे ।

फेरि खेलको ४०औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरे । उनले केभिन डे ब्रुयानको पासमा गोल गरेपछि पहिलो हाफमा बेल्जियमले ०–३ को अग्रता बनायो ।

त्यसपछि खेलको ७२औं मिनेटमा बेल्जियमले चौथो गोल हान्यो । यसपटक लुकाकुले डे ब्रुयानको पासमा गोल गरे । तर, त्यसपछि ७९औं मिनेटमा रसियाले गोल १ गोल फर्काएपछि बेल्जियमको जित १–४ मा खुम्चिएको थियो ।

बेल्जियमका गोलकिपर थिबाउन कोर्टुवाले राष्ट्रिय टोलीबाट लामो समयपछि गोल खाँदा उनी लगातार क्लिन सिट राख्नबाट चुके । यसअघि उनका नाममा बेल्जियमको इतिहासमा सबैभन्दा लामो समय क्लिन सिट राख्ने गोलकिपरको रेकर्ड बनेको थियो ।

बेल्जियम यसअघि नै युरो कपमा छनौट भइसकेको छ । उसले ९ खेलबाट २७ अंक बनाएको छ । उसले छनौटमा खेलेका ९ मा ९ वटै खेल जितेर शतप्रतिशत यात्रा जारी राखको छ ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ०७:४०
Loading...