क्रोएसियाले काट्यो युरो कपको टिकट

काठमाठौं, मंसिर १
रसिया विश्वकपको उपविजेता क्रोएसिया अर्को वर्ष हुने युरो कपका लागि छनौट भएको छ । गत राति उसले आफ्नो आठौं खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै प्रतियोगिताको टिकट काटेको हो ।

आफ्नो घरमा भएको खेलमा क्रोएसियालाई जिताउन ३ जना फरक–फरक खेलाडीले गोल गरे । क्रोएसियाले सुरुमा खेलमा पछि परेर दोस्रो हाफमा पुनरागमन गरेको हो ।

पाहुना टोली स्लोभाकियाका लागि खेलको ३२औं मिनेटमा रोवर्ट बाजेनिंकले गोल गरेका थिए । सोही गोलको मदतमा उसले घरेलु टोली क्रोएसियलाई पहिलो हाफमा ०–१ ले पछि पारेको थियो ।

तर, दोस्रो हाफमा क्रोएसिया शानदार रूपमा खेलमा फर्कियो । ५६औं मिनेटमा निकोला भ्लासिकले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । त्यसको ४ मिनेटमै बुर्नो पेटोभिकले गोल गरेपछि खेलमा क्रोएसियाले अग्रता बनायो ।

त्यसपछि खेलको ७४औं मिनेटमा इभान पेरिसिचले गोल गरेपछि खेल क्रोएसियाले ३–१ ले जित्यो । यो जितसँगै क्रोएसिया अन्तिम एक खेल अगावै प्रतियोगितामा छानिएको हो । उसले ८ खेलबाट १७ अंक बनाएको छ । ७ खेल खेलेको हंगेरी १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति १ मंसिर २०७६, आईतवार ०७:११
Loading...