रिसाए मेस्सीका प्रशंसक टिटे– ‘उनीबाट यस्तो व्यवहार हुनु कल्पनाभन्दा बाहिर’

एजेन्सी, कात्तिक ३०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा गत राति अर्जेन्टिनाले आफ्नो खास प्रतिस्पर्धी ब्राजिललाई १–० ले हरायो । अर्जेन्टिनालाई जिताउन कप्तान लिओनल मेस्सीको १ मात्रै गोल निर्णायक बन्यो । भलै, मेस्सीले पेनाल्टीमा गोल गर्न नसके पनि रिबाउन्ड बलमा गोल गरेका थिए । ब्राजिलका फरवार्ड ग्याब्रिएल जेससले पेनाल्टी गुमाउँदा अर्जेन्टिनालाई खेल जित्न मेस्सीको १ गोल नै काफी भयो ।

सो खेल दौरान मेस्सी र ब्राजिलका प्रशिक्षक टिटेबीचको ‘भनाभन’को विषय अहिले फुटबल बजारमा ‘हट केक’ बनिरहेको छ । खेल सकिएपछि आयोजित पत्रकार सम्मेनलमा सहभागी हुनेक्रममा टिटेले खेल चलिरहँदा मेस्सीलाई आफूलाई ‘हप्काएको’ भन्दै आफूले उनीविरुद्ध कार्ड अपिल गरे पनि रेफ्रीले बेवास्ता गरेको बताएपछि सो विषय बाहिर आएको हो । अहिले त्यसबेलाको भिडियो फुटेज पनि भाइरल बनिरहेको छ ।

टिटेले यो बताएका छन् कि, मेस्सीले टच लाइन नजिकै आएर आफूलाई ‘तिमी मुख बन्द गरेर बस’ भनेर धम्क्याएका थिए । मिडियासँग टिटेले सो कुरा पटक–पटक राख्दै मेस्सीले खेल अनुशासन तोडेकाले उनीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

टिटे मेस्सीका ठूला फ्यानहरूमध्ये एकमा पर्छन् । विगतमा उनले थुप्रैपटक मेस्सीको तारिफ गरेका छन् । टिटे मेस्सीको खेल शैलीको मुक्तकण्ठले तारिफ गर्ने गर्छन् । तर, यसपटक मेस्सीको व्यवहारबाट टिटे निकै दुःखी र निराश देखिन्थे । उनले मेस्सीबाट आफूले कहिल्यै यस्तो व्यवहारको कल्पनासम्म पनि नगरेको बताए ।

‘मेस्सी टच लाइननजिकै आए र आक्रोशपूर्ण तरिकाले मलाई मुख बन्द गरेर बस्न भने । मैले पनि उनलाई त्यसै भने । मैले तत्कालै रेफ्रीसँग उनका विरुद्धमा कार्ड अपिल गरें । तर, रेफ्रीले सुनेनन्,’ टिटेले मिडियासँग भने ।

टिटेले मलिन स्वरमा अघि थपे, ‘मैले उनीबाट यस्तो व्यवहारको कल्पनै गरेको थिइनँ । मैदानमा हामी प्रतिस्पर्धी हौं । तर, मेस्सीप्रति मेरो ठूलो सम्मन थियो ।’

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार २१:३७
Loading...