‘डिस्को धाउने’ विमलसहित चार खेलाडीमाथि एन्फाको कारबाही : निकालिए टोलीबाट

काठमाडौं, कात्तिक ३०
नेपालको राष्ट्रिय फुटबलका टोलीका ४ जना खेलाडी कारबाहीमा परेका छन् । स्टार फरवार्ड विमल घर्तीसहितका ४ जना खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुशासनको कारबाही गरेको हो ।

कारबाहीमा पर्ने खेलाडीमा विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी रहेका छन् । कारबाहीमा परेसँगै ४ जनै खेलाडीलाई एन्फाले टोलीबाट निकालेको छ ।

मंसिर ३ गते नेपालले विश्वकपअन्तर्गत दोस्रो चरणको छनौट खेलमा होम म्याचअन्तर्गत कुवेतसँग भुटनामा खेल्दैछ । कारबाहीमा परेका ४ जनै खेलाडी सो खेल खेल्ने टोलीबाट आउट भएका हुन् ।

एन्फाले खेलाडीमाथि अनुशसानको कारबाही गरेको खुलेको छ । एन्फाले आन्तरिक छलफलबाट ४ जना खेलाडीलाई कारबाही गरेको हो ।

स्रोतका अनुसार विमलसहितका खेलाडी शुक्रबार राति ठमेलस्थित एक डिस्को बारमा गएको भेटिएको थियो । र, त्यहाँबाट फर्किनेक्रममा दुर्घटनामा परेर उनीहरूलाई सामान्य चोटसमेत लागेको बताइएको छ ।

यसअघि पनि विमलसहितका खेलाडी बन्द प्रशिक्षणमा रहेका बेला डिस्को गएको पाइएपछि एन्फाले कारबाही गरेको थियो । तर, त्यसबेला भने खेलाडीलाई टोलीबाट ननिकाली चेतावनी दिएर छाडेको थियो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार २०:११
Loading...