मेस्सीको सबैभन्दा बढी गोल खाने टिम ब्राजिल : यस्तो छ तथ्यांक

काठमाडौं, कात्तिक ३०
गत राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले आफ्नो खास प्रतिस्पर्धी ब्राजिललाई १–० ले हरायो । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले खेलको १३औं मिनेटमा पेनाल्टी मिस गरे पनि रि–बाउन्डमा उनैले गोल गरेर अर्जेन्टिनालाई खेल जिताए ।

गत रातिको गोलसँगै अब ब्राजिल मेस्सीको सबैभन्दा बढी गोल खाने टिम बनेको छ । अर्थात्, मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि टिमविरुद्ध सर्वाधिक बढी गोल गरेका छन् भने त्यो ब्राजिल हो । मेस्सीले हालसम्म ब्राजिलविरुद्ध गरेको गोल संख्या कूल ५ पुगेको छ, जुन सबैभन्दा बढी हो ।

मेस्सीले पराग्वेविरुद्ध पनि ५ गोल नै गरेका छन् । यता, मेस्सीका बढी खाले अन्य टिम उरुग्वे, इक्वेडर र भेनेज्वेला छन् । यी तीनवटै टिमविरुद्ध मेस्सीले समान ४–४ गोल गरेका छन् ।

त्यसपछि मेस्सीले चिली, कोलम्बिया, स्वीट्जरल्यान्ड, मेक्सिको, बोलिबिया, नाइजेरिया, पानामा, ग्वाटेमाला र हाइटीविरुद्ध समान ३–३ गोल गरेका छन् ।

मेस्सीले हालसम्म अर्जेन्टिनाका लागि कूल ६९ गोल गरेका छन् भने ४१ गोलका लागि असिस्ट गरेका छन् । उनी समग्रमा अर्जेन्टिनाका लागि १३७ खेलबाट ११० गोलमा सोझै सहभागी भएका छन् ।

मेस्सीका गोल मैत्रीपूर्ण खेलमा मात्रै !

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक बढी गोल विश्वकै एक बलियो टिम ब्राजिलविरुद्ध गरेका छन् । तर, तथ्य यस्तो छ कि, उनले गरेका सबै गोल मैत्रीपूर्ण खेलमा गरेका हुन् । उनले ब्राजिलविरुद्ध आजसम्म अफिसियल खेलमा १ गोल पनि गर्न सकेका छैनन् ।

गत राति उनले ब्राजिलविरुद्ध गरेको गोल ७ वर्षपछि गरेका हुन् । लामो समयपछि ब्राजिलविरुद्ध गोल गर्दा सो गोल पनि मैत्रीपूर्ण खेलमै रह्यो ।

मेस्सीले ब्राजिलविरुद्ध खेलेका खेल :

मैत्रीपूर्ण खेल (सन् २००६) – अर्जेन्टिना ३—० ब्राजिल (ब्राजिलविरुद्ध मेस्सीको पहिलो खेल)

कोपा अमेरिका फाइनल (सन् २००७) – ब्राजिल ३—० अर्जेन्टिना

विश्वकप छनौट (२००८) – ब्राजिल ०—० अर्जेन्टिना

विश्वकप छनौट (२००९) – ब्राजिल ३—१ अर्जेन्टिना

मैत्रीपूर्ण खेल (२०१०) – अर्जेन्टिना १—० ब्राजिल (मेस्सीको १ गोल–पहिलो गोल)

मैत्रीपूर्ण खेल (२०१२) – अर्जेन्टिना ४—३ ब्राजिल (मेस्सीको ३ गोल)

मैत्रीपूर्ण खेल (२०१४) – ब्राजिल २—० अर्जेन्टिना

विश्वकप छनौट (२०१५) – ब्राजिल १– १ अर्जेन्टिना)

विश्वकप छनौट (२०१६) – ब्राजिल ३—० अर्जेन्टिना

मैत्रीपूर्ण खेल (२०१७) – ब्राजिल ०—१ अर्जेन्टिना

मैत्रीपूर्ण खेल (२०१८) – ब्राजिल १ — ० अर्जेन्टिना

कोपा अमेरिका सेमिफाइनल (२०१९) – ब्राजिल २—० अर्जेन्टिना

मैत्रीपूर्ण खेल (२०१९) – ब्राजिल ०—१ अर्जेन्टिना (मेस्सी १ गोल)

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १८:०६
Loading...