खेल चलिरहेका बेला मेस्सी र ब्राजिलका प्रशिक्षकबीच भनाभन : भएको के थियो ?

एजेन्सी, कात्तिक ३०
गत राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले आफ्नो खास प्रतिस्पर्धी ब्राजिललाई १–० ले हरायो । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टी मिस गरे पनि रि–बाउन्डमा उनैले गोल गरेर अर्जेन्टिनालाई खेल जिताए । सो खेललाई ‘सुपर क्लासिको’ नाम दिइएको थियो ।

तर, सो खेलपछि अर्जेन्टिनाका कप्तान मेस्सी आलोचनाको घेरामा तानिएका छन् । खेल चलिरहँदा उनले ब्राजिलका प्रशिक्षक टिटेलाई ‘गाली गरेपछि’ अहिले उनको व्यवहारको आलोचना सुरु भएको छ ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै प्रशिक्षक टिटेले मेस्सीको व्यवहारप्रति आपत्ति जनाउँदै उनलाई पहेंलो कार्ड देखाइनुपर्नेमा रेफ्रीले लापरबाही गरेको बताए । उनले यो दाबी गरेका छन् कि, मेस्सीले आफूलाई नै ताकेर ‘मुख बन्द गर्न’ भनेका थिए ।

विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियो फुटेजमा पनि मेस्सीले टच लाइनमा गएर कसैलाई ‘चुप लाग्न’ वा ‘मुख बन्द गर्न’ भन्दै गरेको देखिन् सकिन्छ । तर, खेलपछि टिटेले मेस्सीप्रति आक्रोश पोख्दै उनलाई रेफ्रीले कारबाही गर्नुपर्ने वा काण दिनुपर्ने बताए ।

‘मैले तत्कालै रेफ्रीलाई भनें । किनभने, मेस्सीलाई पहेंलो कार्ड देखाइनुपर्थ्यो । उनले मलाई मेरो मुख बन्द गरेर बस्न भन्दै धम्क्याए । मैले पनि उनलाई तिमी पहिला आफ्नो मुख बन्द गर भनेर भनें । मैले उनको जवाफ दिएँ ।’

टिटेले अघि थपे, ‘मलाई यसमा धेरै बोल्नु वा जवाफ दिनु छैन । रेफ्रीले मेस्सीलाई कोर्ड दिनुपर्ने थियो । कार्ड हुनैपर्ने उनको व्यवहार थियो । र, मैले यति दाबी शतप्रतिशत गर्न पाउँछु ।’

‘बिबिसी’को अनलाइन संस्करणले पनि यस बारेमा समाचार प्रकाशन गर्दै मेस्सीको व्यवहारको आलोचनापूर्ण खबर छापेको छ । अर्जेन्टिनाकै लोकप्रिय मिडिया ‘स्काई स्पोर्टस्’ले पनि मेस्सी र टिटेबीच भनाभन परेको खबरलाई प्रकाशित गरेको छ ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १३:२१
Loading...