जेसस ‘खराब पेनाल्टी टेकर’ : पेनाल्टी गुमाउनेमा बन्यो कीर्तिमान !

काठमाडौं, कात्तिक ३०
गत राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दक्षिण अमेरिकी क्षेत्रका दुई खास प्रतिस्पर्धी ब्राजिल र अर्जेन्टिना भिडे । जहाँ कप्तान लिओनल मेस्सीको १ मात्रै गोलको मदतमा अर्जेन्टिनाले खेल १–० ले जित्यो । गत जुलाईमा कोपा अमेरिका फुटबलको अन्तिम चारमा ब्राजिलसँग २–० ले हारेको अर्जेन्टिनाले यसपटक मैत्रीपूर्ण फुटबलमा ऊसँग बदला लियो ।

गत राति साउदी अरेबियाको अल साउद युनिभर्सिटी रंगशालामा भएको खेलको सुरुआती १२ मिनेटमै दुई पेनाल्टी भएका थिए । जसमा १२औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएकोमा कप्तान लिओनल मेस्सीले प्रहार गरे । उनको पेनाल्टी ब्राजिलका गोलकिपरले बचाए पनि रि–बाउन्डमा मेस्सीले गोल गरे । अन्ततः अर्जेन्टिनालाई खेल जित्न सोही गोल काफी भयो ।

त्यसअघि खेलको नवौं मिनेटमा ब्राजिलले पेनाल्टी पाएको थियो । तर, ब्राजिलका फरवार्ड ग्याब्रिएल जेससले पेनाल्टी मिस गरे । उनले पेनाल्टी टार्गेटमै हानेनन् । उनको स्लो प्रहार पोस्टभन्दा बाहिर गयो ।

सो पेनाल्टी गुमाएसँगै जेसस सबैभन्दा खराब पेनाल्टी हान्ने खेलाडीको सूचीमा परेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड रहेका उनको पेनाल्टीको रेकर्ड निकै खराब छ । उनले विभिन्न प्रतियोगितामा गरेर हानेका पछिल्ला ९ पेनाल्टीमा ५ पेनाल्टी खेर फालेर मात्रै ४ मा गोल गरेका छन्, जुन सर्वाधिक खराब रेकर्ड हो ।

पेनाल्टी गुमाउनु जेससका लागि नयाँ कुरा होइन । उनले हानेका पछिल्ला तीन पेनाल्टी लगातार खेर गएका छन्, जुन ९० मिनेटभित्रै हानेका थिए । उनले गत जुलाईमा ब्राजिलमा भएको कोपामा पेरुविरुद्ध पनि पेनाल्टी गुमाएका थिए । त्यस्तै, यही सिजन मात्रै उनले च्याम्पियन्स लिगमा पनि इटालियन क्लब एट्लान्टाविरुद्ध पनि पेनाल्टी गुमाएका थिए । लगत्तै उनले अर्जेन्टिनाविरुद्ध पेनाल्टी गुमाएर आफूलाई ‘खराब पेनाल्टी टेकर’ रूपमा आलोचित बनाएका छन् ।

समग्रमा उनले १२ यार्ड दूरीबाट हालसम्म पछिल्ला ९ पेनाल्टीमा ५ पेनाल्टी खेर फालका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १२:४५
Loading...