विश्वकप छनौट : कुवेतविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा

काठमाडौं, कात्तिक ३०
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले एसियन क्षेत्रमा दोस्रो चरणका खेल हुँदैछन् । जसमा अवे खेल खेलिसकेको नेपालले होम म्याच खेल्दैछ । मंसिर ३ गते नेपालले पहिलो होम म्याचमा कुवेतको सामना गर्दैछ । यसअघि नेपाल कुवेतसँग उसको घरमा ७–० ले हारेको छ ।

सो खेलका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ । यसअघि यो खेल नेपालको काठमाडौंस्थित दशरथ रंगशालामा हुने तय भए पनि अन्तिम समयमा रंगशाला तयार नहुने भएपछि सो खेल भुटानमा हुँदैछ । खेल भुटानको चाङलिमिथाङ रंगशालामा मंगलबार हुँदैछ ।

सो खेलका लागि नेपालका प्रमुख प्रशिक्षक योहान कालिनले अन्तिम टोली सार्वजनिक गरेका हुन् । यसपटक यसअघि ४ खेलमा टोलीमा नरहेका भरत खवास टोलीमा फर्किएका छन् । यस खेलमा चोट बोकेका मिडफिल्डर विशाल राई बाहिरिँदा अघिल्लो म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका मिक्छेन तामाङले निरन्तरता पाएका छन् । यता, यसपटक मिडफिल्डर हेमन गुरुङसमेत टोलीमा छैनन् ।

नेपाल हाल आफ्नो समूहमा ४ अंक जोड्दै अंकविहीन चाइनिज ताइपेईभन्दा माथि चौथो स्थानमा छ । शतप्रतिशत अंक जोडेको अस्ट्रेलिया १२ अंकसहित पहिलो स्थानमा छ भने कुवेत र जोर्डनको समान ७–७ अंक छ ।

को–को छन् नेपाली टोलीमा :

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर – सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर – रोहित चन्द, सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ

फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ, भरत खवास

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १०:५९
Loading...