स्पेनका सर्वाधिक गोलकर्ता भिल्लाद्वारा सन्यास घोषणा

एजेन्सी, कात्तिक ३०
स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी राष्ट्रिय टोलीका पूर्वस्टार डेभिड भिल्लाले सन्यास घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यसँगै सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । भिल्ला हाल जापानी क्लब भिसेल कोबेबाट व्यवासायिक फुटबल खेलिरहेका छन् ।

हाल ३८ वर्ष पुगेका भिल्लाले अघिल्लो दिन सबैखाले फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । भिल्लाले आफ्नो करिअर दौरान स्पेनका क्लब भ्यालेन्सिया, बार्सिलोना, एट्लेटिको मड्रिडबाट खेलेका थिए । उनले करिअर दौरान प्रशस्तै गोल गरे भने अनेक कीर्तिमान पनि बनाए ।
सिनियर करिअर २००० देखि स्पोर्टिङ गिजोनबाट खेल्न थालेका उनले त्यसपछि जारागाबो हुँदै भ्यालेन्सिया पुगेका थिए । भ्यालेन्सियामा ५ वर्ष बिताएका उनी २०१० देखि २०१३ सम्म बार्सिलोनामा रहे । जहाँ उनले ७७ खेलबाट ३३ गेल गरेका थिए ।

भ्यालेन्सिायमा छँदा करिअरमा नयाँ उचाइ लिएका उनले बार्सिलोनामा पनि प्रभाव जमाएर खेलेका थिए । बार्सिलोना छाडेर भिल्ला २०१३ मा एथ्लेटिको मड्रिड पुगेका थिए जहाँ उनले ३६ खेलबाट १३ गाल गरे । त्यहाँ उनले एक सिजन मात्रै बिताए ।

स्पेन छाडेपछि भिल्ला न्यु योर्क सिटी, मेलबोर्न सिटी हुँदै यसै वर्षको सुरुमा जापानी क्लब भिसेल कोबेमा अनुबन्ध भएका थिए । कोबेमा उनले कूल २६ खेलबाट १२ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा भिल्लाले स्पेनका लागि सन् २००८ मा युरोपियन च्याम्पियनसिप जितेका थिए । अनि २०१० मा स्पेनले विश्वकप जित्दा पनि भिल्ला टोलीका प्रमुख खेलाडी थिए । स्पेनका लागि उनले हालसम्म ५९ गोल गरेका छन्, जुन सर्वाधिक बढी हो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार १०:१६
Loading...