युरो कप छनौट : स्पेनको फराकिलो जितमा सात खेलाडीको गोल

काठमाडौं, कात्तिक ३०
यसअघि नै युरो कपमा छनौट भइसकेको स्पेनले नवौं खेलमा माल्टामाथि फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा स्पेनले आफ्नो घरमा पाहुना टोली माल्टालाई ७–० को फराकिलो हार चखायो ।

स्पेनको फराकिलो जितमा ७ जना फरक–फरक खेलाडीले गोल गरे । खेलको २३औं मिनेटमा पहिलो गोल गरेको स्पेनले ८५औं मिनेटमा अन्तिम गोल गरेको थियो । स्पेनले खेलको २३औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि ४१औं मिनेटमा सान्टी काजोर्लाले गोल गर्दै स्पेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा स्पेन झन् हाबी भयो । जहाँ स्पेनले खेलको ६२ देखि ६९औं मिनेटको बीचमा ३ गोल हान्यो । ६२औं मिनेटमा पाउ टोरेजले टोलीका लागि तेस्रो गोल गर्दा ६३औं मिनेटमा पाब्लो साराबियाले चौथो गोल गरे ।

फेरि खेलको ६९औं मिनेटमा ड्यानी ओल्मोले टिमका लागि पाँचौं गोल गरे भने ७१औं मिनेटमा जेरार्ड मोरेनोले अर्को गोल थपे । त्यस्तै, खेलको ८५औं मिनेटमा जेसस नाभासले गोल गरेपछि खेल स्पनेले ७–० ले जित्यो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार ०९:०२
Loading...