ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘सुपर क्लासिको’को उपाधि

काठमाडौं, कात्तिक ३०
गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको सेमिफाइनलमा ब्राजिलसँग हारेको बदला अर्जेन्टिनाले झन्डै चार महिनापछि मैत्रीपूर्ण खेलमा लिएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत ‘सुपर क्लासिको’ नाम दिइएको खेलमा अर्जेन्टिनाले आफ्नो खास प्रतिस्पर्धी ब्राजिललाई १–० ले स्तब्ध बनायो ।

नेपाली समयअनुसार शनिबार बिहान साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई ब्राजिलविरुद्ध जिताउन कप्तान लिओनल मेस्सी नायक बने । उनले पेनाल्टीमा गोल गर्न नसके पनि रि–बाउन्ड बलमा गोल गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो ।

पहिलो मिनेटबाटै आक्रामक बनेको खेलको नवौं मिनेटमा ब्राजिलले पेनाल्टी पाएको थियो । बक्समा अर्जेन्टिनी डिफेन्डरले ब्राजिलका ग्याब्रिएल जेससलाई लडाएपछि रेफ्रीले ब्राजिललाई सोझै पेनाल्टी दिए ।

तर, जेससले पर्खिएर हानेको स्लो पेनाल्टी पोलभन्दा बाहिरबाट गएपछि ब्राजिल खेलमा अग्रता लिनबाट चुकेको थियो । त्यसको ३ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पायो । बक्समा ब्राजिलका लेफ्ट ब्याक एलेक्स सान्ड्रोले कप्तान लिओनल मेस्सीलाई लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए ।

तर, कप्तान मेस्सीले पेनाल्टी मिस गरे । ब्राजिलका गोलकिपर एलिसन बेकरले मेस्सीको पेनाल्टी छेके । तर, रि–बाउन्ड बलमा मेस्सीले ट्याप गर्दै गोल गरेपछि खेलमा अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा खेल झन् आक्रामक बन्यो । ब्राजिलले बराबरी गोलको खोजीमा ठूलै संघर्ष गरे पनि फिनिसिङमा पटक–पटक चुक्दा उसका कुनै पनि खेलाडीको प्रहारले जाली चुम्न पाए ।

यता, अर्जेन्टिनाले भने दोस्रो हाफमा पनि पटक–पटक आक्रामणको मुभ बनायो । तर, ब्राजिलका गोलकिपर बेकरले शानदार प्रदर्शन गर्दै अर्जेन्टिनाका आधा दर्जन प्रहार बचाएपछि ब्राजिल थप गोल खानबाट जोगिएको थियो । अन्ततः निर्धारित ९० मिनेट र ५ मिनेटको इन्जुरी समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल अर्जेन्टिनाले जित्यो ।

खेल अवधिभरि ब्राजिलले अर्जेन्टिनाको पोस्टमा जम्मा ६ पटक मात्रै प्रहार गर्दा एक प्रहार टार्गेटमा थियो । तर, अर्जेन्टिनाले भने कूल १४ प्रहार गर्दा ८ प्रहार टार्गेटमा राखेको थियो ।

प्रकाशित मिति ३० कार्तिक २०७६, शनिबार ०१:२१
Loading...