पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई १–० को अग्रता : मेस्सी पेनाल्टीमा चुके !

काठमाडौं, कात्तिक ३०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अहिले दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया देश ब्राजिल र अर्जेन्टिनाको खेल जारी छ । साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ ।

पहिलो मिनेटबाटै आक्रामक बनेको खेलको नवौं मिनेटमा ब्राजिलले पेनाल्टी पायो । बक्समा अर्जेन्टिनी डिफेन्डरले ब्राजिलका ग्याब्रिएल जेससलाई लडाएपछि रेफ्रीले ब्राजिललाई सोझै पेनाल्टी दिए ।

तर, जेससले पर्खिएर हानेको स्लो पेनाल्टी पोलभन्दा बाहिरबाट गएपछि ब्राजिल खेलमा अग्रता लिनबाट चुकेको थियो । त्यसको ३ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पायो । बक्समा ब्राजिलका लेफ्ट ब्याक एलेक्स सान्ड्रोले कप्तान लिओनल मेस्सीलाई बक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए ।

तर, कप्तान मेस्सीले पेनाल्टी मिस गरे । ब्राजिलका गोलकिपर एलिसन बेकरले मेस्सीको पेनाल्टी छेके । तर, रि–बाउन्ड बलमा मेस्सीले ट्याप गर्दै गोल गरेपछि खेलमा अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनायो ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार २३:३१
Loading...