म सब्सिच्युट हुनुभन्दा बेन्चबाट गएर थोरै खेल्न चाहन्छु : मेस्सी

एजेन्सी, मंसिर २
अर्जेन्टिना तथा स्पेनिस बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले खेल दौरान सब्सिच्युट हुनुपर्दा आफूलाई राम्रो नलाग्ने बताएका छन् । हालै राष्ट्रिय टोली र क्लब दुवैबाट कप्तानी गरिरहेका उनले बरु बेन्चबाट गएर थोरै समय खेल्दा आफू खुसी हुने भनाइ राखेका छन् ।

हाल अन्तर्राष्ट्रिय ड्युटीक्रममा अर्जेन्टिनी टोलीमा व्यस्त रहेका उनले उरुग्वेसँगको खेलअघि एक अन्तर्वार्तामा बोल्दै यस्तो बताएका हुन् । मेस्सीले निर्धारित ९० मिनेटअघि अन्य खेलाडीद्वारा आफू प्रतिस्थापित हुनुभन्दा बेन्चबाट अन्तिम केही मिनेट खेल्न मन पराउने बताए ।

‘म सब्सिच्युट हुन चाहँदिनँ,’ ‘टिवाईसी स्पोर्टस्’सँग कुरा गर्दै मेस्सीले भनेका छन्, ‘म सब्सिच्युट हुनुभन्दा बेन्चबाट आएर थोरै समय खेल्न चाहन्छु ।’

मेस्सी यो बताउँछन् कि, कतिपय खेलहरू मध्य भागसम्म पुग्दा अनिर्णित भइरहेका हुन्छन् । र, अन्तिम समयमा निर्णायक हुन्छन् । र, त्यो बेला केहीछिनमै फरक नतिजा निकाल्न सकिन्छ । उनले भनेका छन्–

‘मेरो विचारमा थुप्रै खेलहरू अन्तिम समयतिर पुग्दै गर्दा पनि अनिर्णित नै हुन्छन् । त्यस्तो बेला अन्तिम समयतिर बलका लागि बढी ठाउँ पाउन सकिन्छ । किनभने, त्यसबेला धेरैजसो विपक्षी खेलाडीहरू थकित भइसकेका हुन्छन् । त्यस्तो बेला म बेन्चबाट आएर खेलाई रोमाञ्चक बनाउन मन पराउँछु । तर, सब्सिच्युट भएर म खेलको अन्तिम र रोमाञ्चक समय म गुमाउन चाहँदिनँ ।’

प्रकाशित मिति २ मंसिर २०७६, सोमबार १८:५०
Loading...