ब्राजिलका खेलाडी भन्छन्– ‘अर्जेन्टिनालाई हराउन समस्या छैन’

एजेन्सी, कात्तिक २९
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज राति विश्वकै एक चर्चित खेल हुँदैछ । जहाँ दक्षिण अमेरिकी क्षेत्रका दुई ठूला टिम ब्राजिल र अर्जेन्टिना चार महिनापछि पुनः आमनेसामने हुँदैछन् । खेल साउदी अरेबियामा नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा ब्राजिलको टोलीमा नेइमार चोटका कारण छैनन् भने अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सी ठीकठाक उपलब्ध हुनेछन् । नेइमार नभए पनि आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यसअघि गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलमा ब्राजिलले अर्जेन्टिनालाई सेमिफाइनलमा २–० ले हराएर निराश बनाएको थियो ।

आज पुनः ती नै टिम भिड्न लाग्दा ब्राजिलका स्टार मिडफिल्डर कासेमिरोले भने अर्जेन्टिनालाई हराउन आफूहरूलाई समस्या नपर्ने बताएका छन् । स्पेनिस रियल मड्रिडका खेलाडी उनले अर्जेन्टिना बलियो टोली भए पनि आफूहरूले खेल जित्ने दाबी गरेका छन् ।

‘अर्जेन्टिनासँगको खेल कहिल्यै पनि मैत्रीपूर्ण हुँदैन । उनीहरूसँगको प्रतिस्पर्धा सधैं विशेष हुन्छ । किनभने, उनीहरूसँग उत्कृष्ट खेलाडी छन्,’ कासेमिरोले खेलअघि पत्रकारसँग कुरा गर्दै भनेका छन्, ‘तर, हामी पूर्ण तयार छौं । मलाई लाग्छ, उनीहरूलाई हराउन हामीलाई समस्या पर्नेछैन ।’

कासेमिरोले अर्जेन्टिनाविरुद्ध खेल्दा आफूहरूसँग खास योजना नरहने बताए । ‘हैन, हामीसँग कुनै एक खेलाडीलाई कसरी रोक्ने भनेर योजना छैन । हामी आफ्नो शैलीको स्वभाविक खेल खेल्छौैं, जसरी सधैं खेल्छौं । उनीहरूसँग हामीले कोपामा खेलेको धेरै भएको छैन । उनीहरूको टिममा खास परिवर्तन छैन । र, उनीहरू कसरी खेल्छन् भन्ने हामीलाई थाहा छ,’ कासेमिरोले भने, ‘हामी खेलमा सकेसम्म चाँडो गोल गरेर अग्रता लिन प्रयास गर्नेछौं । त्यसपछि खेललाई नियन्त्रणमा राख्न सजिलो हुन्छ ।’

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १७:४२
Loading...