‘प्रशिक्षकसँग गुनासो’ गरेका राकिटिकलाई भाल्भर्डेको यस्तो जवाफ

काठमाडौं, कात्तिक २९
दुई दिनअघि एक अन्तर्वार्तामा कुरा गर्दै स्पेनिस बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान राकिटिकले पछिल्लो समय खेल्न नपाएको विषयमा गुनासो पोखे । उनले क्लब र प्रशिक्षकले ‘आफ्नो बल खोसेको’ भन्दै निकै भावुक प्रतिक्रिया दिएका थिए ।

सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना पुगेका उनले आफूले पाँच वर्षमा क्लबका लागि धेरैथोक दिएको स्मरण गर्दै अहिले क्लबले खेल्न निदएकोमा चित्त दुखाए । उनले ‘आफू ३८ वर्ष नभएर ३१ वर्षको मात्रै भएको’ भन्दै प्रशिक्षक अर्नेस्टो भाभलर्डेप्रति असन्तुष्टि पोखेका थिए ।

त्यसको एक दिनपछि नै प्रशिक्षक भाल्भर्डेले राकिटिकको सो भनाइको प्रतिउत्तर दिएका छन् । अघिल्लो दिन क्लब मैत्रीपूर्ण खेलमा कार्टागेनालाई हराएपछि उनले ‘मार्सा’सँगकुरा गर्दै राकिटिको भनाइमा आफूले केही बोल्नपर्ने आवश्यकता नरहेको बताए ।

‘राकिटिकको भनाइमा मलाई केही भन्नुपर्ने जरुरी छैन । यो उनको कुरा थियो । म आफ्नो काम गरिरहेको छु,’ भाल्भर्डेले घुमाउरो पारामा राकिटिकको भविष्य क्याम्प नोउमा नरहेको प्रति जनाउ दिँदै भने, ‘टिम बनाउँदा कोही मैदानमा हुन्छन्, कोही बेन्चमा । यो सामान्य हो । सबैले धेरैभन्दा धेरै खेल्न चाहन्छन् । तर, हुँदैन ।’

भाल्भर्डेले आफू आवश्यकताअनुसार अघि बढ्ने बताए । ‘उनीसँग मेरो व्यक्तिगत नराम्रो केही छैन । उनी आज पनि बार्सिलोनाका खेलाडी हुन् । उनी के सोचिहेका छन्, उनैलाई थाहा होला ।’

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार १३:२५
Loading...