चेक रिपब्लिक युरो कपका लागि छनौट

काठमाडौं, कात्तिक २९
चेक रिपब्लिक अर्को वर्ष हुने युरो कप फुटबलका लागि छानिएको छ । गत राति भएको खेलमा चेकले कोसोभोलाई २–१ ले हराउँदै प्रतियोगितामा स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा चेक आफ्नै घरमा ५०औं मिनेटमा गोल खाएर पछि परेको थियो । पाहुना टोली कोसोभाका लागि आट्धे नुहियुले गोल गरेर चेकलाई ०–१ ले पछि पारेका थिए ।

तर, आफ्नो भूमिमा चेकका लागि खेलको ७१औं मिनेटमा एलेक्स क्रालले गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि खेलको ७९औं मिनेटमा ओन्ड्रेजले गोल गरेपछि खेल चेकले २–१ ले जित्यो ।

यो जितपछि चेक समूह ‘ए’को उपविजता बनेर प्रतियोगितामा छानिन सफल भयो । उसले ७ खेलबाट १५ अंक बनायो । सो समूहबाट इंग्ल्यान्ड पनि छनौट भइसकेको छ । उसले १८ अंक बनायो ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०८:३३
Loading...