फराकिलो जितसहित इंग्ल्यान्ड युरो कपमा छानियो : केनको ह्याट्रिक

काठमाडौं, कात्तिक २९
अर्को वर्ष हुने युरो कपका लागि जारी छनौट खेलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । कप्तान ह्यारी केनले पहिलो हाफको ३७ मिनेटभित्रै ह्याट्रिक गरेपछि इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ७–० ले निराश बनायो ।

आफ्नो घरमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन कप्तान केनले ३ गोल गर्दा एलेक्स ओक्सलाडे च्याम्र्बिलन, मार्कुस रासफोर्ड र टमी अ्रबाहमले १–१ गोल गर्दा १ गोल उपहारमा पायो ।

इंग्ल्यान्डका लागि पहिलो गोल च्याम्र्बिनले ११औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको १८औं र २४औं मिनेटमा केनले लगातार २ गोल गरे । त्यसपछि खेलको ३०औं मिनेटमा रासफोर्डले गोल गरे भने ३७औं मिनेमा केनले ह्याट्रिक पूरा गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ५–० को अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्यान्डले २ गोल पायो । खेलको ६६औं मिनेटमा मेन्टेनेग्रोका खेलाडीले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा इंग्ल्यान्ड ६–० ले अघि रह्यो । त्यसपछि खेलको ८४औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल इंग्ल्यान्डले ७–० ले जित्यो । अब्रामहका लागि सिनियर टोलीमा यो पहिलो गोल थियो ।

यो जितसँगै इंग्ल्यान्ड युरो कपमा समेत छानिएको छ । ऊ समूह ‘ए’को विजेताका रूपमा छानिएको हो । उसले ७ खेलबाट १८ अंक जोडेको छ । उसले अन्तिम खेल खेल्न बाँकी नै छ ।

प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०३:३७
Loading...