लिभरपुलका पूर्वस्टार भन्छन्– ‘बालोन डि‘ओरका लागि मेस्सीभन्दा रोनाल्डो योग्य’

एजेन्सी, कात्तिक २८
वर्ष २०१९ को बालोन डि‘ओर अवार्ड घोषणा हुन दुई साताभन्दा बढी छैन । घोषणा हुने दिन नजिकिँदै गर्दा यसपटक सो अवार्ड कसले जित्ला भन्नेमा धेरैको चासो छ । यसपटक इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ ।

यसैबीच, इंग्ल्यान्ड तथा लिभरपुलका पूर्वस्टार खेलाडी डनी मर्फाइले यो बताएका छन् कि, यस वर्ष बालोन डि‘ओरका लागि बार्सिलोनाका मेस्सीभन्दा युभेन्टसका रोनाल्डो योग्य छन् । तर, लिभरपुलका भान डाइकले जिते अवार्डमाथि शतप्रतिशत न्याय हुने उनी बताउँछन् । ‘अवश्य पनि, विजेता मेरा लागि भान डाइक हुन् । गत सिजन उनले लिभरपुलमा पारेको प्रभाव र प्रदर्शनका आधारमा उनी सच्चा हकदार छन्,’ मर्फाइले भने ।

तर, मर्फाइ मेस्सी प्रमुख दाबेदार रहन नसक्ने बताउँछन् । ‘माफ गर्नु होला । म मेस्सीलाई प्रमुख दाबेदार मान्दिनँ । यदि भान डाइकले जितेनन् भने रोनाल्डो दोस्रो दाबेदार हुन् । किनभने, गत सिजन उनले इटालीमा गरेको प्रदर्शन, उपाधि र अन्तर्राष्ट्रिय सफलता मेस्सीको भन्दा धेरै माथि छ,’ मर्फाइले भने ।

उनले अघि थपे, ‘गत सिजनको मेस्सीको व्यक्तिगत प्रदर्शनप्रति मेरो सम्मान छ । तर, बालोन डि‘ओर जित्न ठूला प्रतियोगिता र उपाधि जित्नु आवश्यक हुन्छ, यो कुरा मेस्सीलाई सबैभन्दा राम्रोसँग थाहा छ ।’

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार २१:४१
Loading...