‘मेस्सी र रोनाल्डोभन्दा रोनाल्डिन्हो उत्कृष्ट’

एजेन्सी, कात्तिक २८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाविरुद्धको खेलको तयारीमा रहेका ब्राजिलका विलियनले यो बताएका छन् कि, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोभन्दा ब्राजिलै लिजेन्ड रोनाल्डिन्हो सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । र, उनको स्थान सबैको भन्दा माथि छ ।

हालै एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनेर सोधिएकोमा प्रश्नमा पाँच–पाँचपटक बालोन डि‘ओर जितेका खेलाडी छाडेर आफ्नै देशका लिजेन्ड खेलाडीलाई पहिलो रोजाइमा राखे । इंग्लिस क्लब चेल्सीबाट खेल्ने विलियनले रोनाल्डो र मेस्सी खास भए पनि रोनाल्डिन्हो उनीहरूभन्दा माथिल्लो स्तरको खेलाडी रहेको बताए ।

‘रोनाल्डिन्हो उनीहरू सबैभन्दा उत्कृष्ट हुन्,’ विलियनले भनेका छन्, ‘रोनाल्डो र मेस्सीभन्दा उत्कृष्ट, सबैभन्दा विशेष ।’

विलियनले रोनाल्डिन्हो मैदानमा जादुयी तरिकाले खेल्ने भन्दै उनको जस्तो शैली कसैसँग नरहेको बताए । ‘मैदानमा उनी जादुयी थिए । र, उनी गोल पनि प्रशस्तै गर्थे,’ विलियनले भने, ‘एक फ्यानका रूपमा मलाई लाग्छ, उनले चाँडै मैदान छाडे ।’

विलियनले फुटबलको दुनियाँमा रोनाल्डिन्हो आफ्ना लागि ठूला आइडल रहेको पनि बताए । ‘फुटबलमा उनी मेरा लागि सबैभन्दा ठूला आदर्श थिए, सबैभन्दा माथि,’ विलियनले थपे ।

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १६:१२
Loading...