‘ग्रीजम्यानको कमजोर प्रदर्शनको कारण बार्सिलोनाको ड्रेसिङ रूम’

एजेन्सी, कात्तिक २७
फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान यतिबेला स्पेनिस क्लब बार्सिलोनामा पहिलो सिजन बिताइरहेका छन् । लिग प्रतिस्पर्धी क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना पुगेका उनी अहिले आफ्नो स्तरको प्रदर्शन गर्न त परकै कुरा, टोलीमा स्थान बनाउनै संघर्ष गरिरहेका छन् ।

पछिल्लो अवस्था हेर्ने हो भने विश्वकपविजेता ग्रीजम्यान बार्सिलोनामा ‘सब्सिच्युट’ खेलाडीका रूपमा दिनहरू बिताइरहेका छन् । पाएको समयमा मैदानमा प्रभाव जमाउन नसक्दो उनको समय क्रमशः काटिँदै गइरहेको छ । उनले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा उनी मात्रै नभएर प्रशिक्षक अर्नेस्टो भाल्भर्डेमाथि पनि प्रश्नहरू उठ्न थालेका छन् ।

हाल फ्रान्सको राष्ट्रिय टोलीबाट युरो कप छनौट खेल्न लागेका ग्रीजम्यानको बार्सिलोनाको अवस्थाबारे फ्रान्सका प्रशिक्षक डेडिएर डेस्च्याम्प्स्ले धारणा राखेका छन् । युरो कपमा माल्डोभासँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो टोलीका प्रमुख खेलाडीको तारिफ गर्दै बार्सिलोनामा उनी आन्तरिक कारणले खराब अवस्थामा रहेको बताएका छन् ।

‘बार्सिलोनामा अहिले उनी जुन अवस्थामा छन्, उनी त्यो स्तरका खेलाडी होइनन् । उनी विश्वस्तरका खेलाडी हुन् । र, उनले आफ्नो टिमलाई प्रशस्तै दिन सक्छन्,’ डेस्च्याम्पस्ले भनेका छन्, ‘मलाई लाग्छ, बार्सिलोना र प्रशिक्षकले ग्रीजम्यानका लागि फरक ढंगले सोच्नुपर्छ । उनी आफ्ना कारणले नभई अन्य कारणले नै समस्यामा छन् भन्ने मलाई लाग्छ ।’

प्रशिक्षक डेस्च्याम्प्सले बार्सिलोनाको ड्रेसिङ रुम ग्रीजम्यानप्रति उदार नरहेको भन्ने कुरा आफूले सुनेको बताउँदै त्यसो हुनु दुःखको कुरा रहेको बताए । ‘मैले अन्य टोलीको आन्तरिक विषयमा बोल्नु जरुरी छैन तर, …. । यसमा कति सत्यता छ, मलाई थाहा छैन । तर, ग्रीजम्यानप्रति बार्सिलोनाको ड्रेसिङ रुम उदार नभएको अनुभूत गर्न सकिन्छ । विश्वकै उत्कृष्ट क्लब र उत्कृष्ट खेलाडी कप्तान भएको टोलीमा यस्तो कुरा सुहाउँदैन,’ प्रशिक्षक डेस्च्याम्प्सले भने ।

डेस्च्याम्प्सले फ्रान्सको टोलीमा ग्रीजम्यानले लय समात्नेमा आफू ढुक्क रहेको बताए । ‘अवश्य पनि, यहाँ उनलाई कुनै समस्या छैन । उनले आफ्नो स्तरको प्रदर्शन गर्नेमा म ढुक्क छु,’ डेस्च्याम्प्सले भने ।

फ्रान्सले युरो कप छनौटमा माल्डोभाको सामना आज राति आफ्नो घरमा गर्दैछ । फ्रान्स हाल ८ खेलपछि १९ अंक बनाएर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १२:२६
Loading...