रियल मड्रिडले एमबाप्पेलाई नेइमारको भन्दा ‘दोब्बर मूल्य’मा भित्र्याउने !

एजेन्सी, कात्तिक २८
स्पेनिस रियल मड्रिड फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्ध गर्न पैसाको खोलो बगाउन तयार देखिएको छ । यस्तो रिपोर्ट फ्रेन्च तथा स्पेनका मिडियाले प्रकाशित गरेका छन् । हाल पिएसजीबाट खेलिरहेका २० वर्षीय विश्वकपविजेता खेलाडीलाई सान्टियागो बेर्नाबेउ उतार्न रियलले विश्वकीर्तिमानी मूल्य खर्चिने योजना बनाएको छ ।

रिपोर्टअनुसार रियल एमबाप्पेका लागि करिब ४०० मिलियन युरो मूल्य लगाउन तयार छ । यो दुई वर्ष पहिले पिएसजीले बार्सिलोनाबाट ब्राजिलका नेइमारलाई भित्र्याएको विश्वकीर्तिमानी मूल्यभन्दा झन्डै दोब्बरले बढी हो । बार्सिलोनाले नेइमारलाई विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेको थियो ।

रियलका प्रशिक्षक जिनेदिन जिदान पनि फ्रेन्च म्यानेजर नै भएकाले उनले एमबाप्पेलाई अनुबन्ध गर्न विशेष इच्छा देखाएका छन् । युवा र गोल मेसिन खेलाडी भएकाले रियल एमबाप्पेलाई अनुबन्ध गरेर कम्तीमा १० वर्ष सुरक्षित हुन चाहन्छ । जिदान र रियलले एमबाप्पेलाई पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको भरपर्दो विकल्पका रूपमा हेरेका छन् । एमबाप्पे आफैं रोनाल्डो र रियलका ठूला फ्यानसमेत हुन् ।

रोनाल्डोको बहिर्गमनपछि रियल पहिलो सिजन उपाधिविहीन बन्यो भने यस सिजन पनि कमजोर अवस्थामा छ । अस्ति भर्खरको समरमा रियलले नयाँ खेलाडी अनुबन्धमा ३०० मिलियन युरो खर्चिए पनि टोलीको प्रदर्शन र नतिजामा खासै सुधार देखिएको छैन । महत्त्वकांक्षी योजनासाथ भित्र्याइएका खेलाडी इडेन हाजार्ड र लुका जोभिक स्पेनमा चम्किन सकेका छैनन् ।

पिएसजीमा हाल एमबाप्पेसँगै नेइमार, लोनमा आएका फरवार्ड माउरो इकार्डी, इडिसन काभानी, एन्जल डि मारियालगायतको धारिलो आक्रमण लाइन छ । नेइमार अझै पनि अर्को समरमा बार्सिलोना सर्न सक्ने चर्चामा छन् । यता, एमबाप्पेलाई पनि रियलले अनुबन्ध गरे पिएसजीले समरमा खेलाडी बिक्रीबाट निकै मोटो बजेट बटुल्नेछ ।

यदि पिएसजीले नेइमार र एमबाप्पे दुवै गुमाए उसले स्पेनिस बार्सिलोनाबाट खेल्ने फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान भित्र्याउन प्रयास गर्ने चर्चा छ ।

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ०७:४१
Loading...