राकिटिक अन्तर्वार्तामै बने भावुक, भने– ‘बार्सिलोनाले मबाट बल खोसेको छ’

एजेन्सी, कात्तिक २७
स्पेनिस बार्सिलोनाका क्रोएसियाका स्टार मिडफिल्डर इभान राकिटिक अहिले क्याम्प नोउमा निकै कठिन समय काटिरहेका छन् । गत सिजनसम्म टिममा पहिलो रोजाइका खेलाडी रहेका उनलाई अहिले मैदानमा खेल्ने समय पाउनै हम्मे छ । अहिले सुरुआती टोलीमा पर्नु त उनका लागि सपनाजस्तै भइसकेको छ ।

बार्सिलोनाले अस्ति भर्खर डच क्लब आयाक्सबाट युवा खेलाडी फ्रेन्की डे जोङ अनुबन्ध गरेपछि राकिटिकको खराब समय सुरु भएको थियो । राकिटिकको स्थान २३ वर्षीय डच मिडफिल्डरले लिन थालेपछि क्याम्प नोउमा क्रोएसियन खेलाडी अधिकांश समय बेन्चमै रहँदै आएका छन् । जारी सिजन उनले मात्रै एक खेलमा सुरुआत गर्दा तीन खेलमा उनी टोलीमै परेनन् । बाँकी खेलमा उनी बेन्चबाट खेलेका छन् ।

प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा अहिले राकिटिक टोलीमा पर्न छाडेपछि निकै निराश छन् । यो कुरा उनी स्वयंले बताएका छन् । हालै स्पेनको एक मिडियासँग कुरा गर्दै राकिटिकले हाल आफ्नो अवस्था ‘गुडिया खोसिएको बच्चा’को जस्तै रहेको भन्दै निकै भावुक अन्तर्वार्ता दिएका छन् । सो अन्तर्वार्ताक्रममा राकिटिकले राखेका भनाइ जस्ताको तस्तै :-

‘मेरी सानी छोरीको खेलौना खोसियो भने उनले कस्तो अनुभूत गर्छिन् ? दुःखी । म अहिले त्यस्तै अनुभूत गरिरहेको छु । उनीहरूले मबाट बल खासेका छन् ।’

‘म प्रशिक्षक र क्लबको निर्णय बुझ्दछु । र, यसको कदर गर्छु । म बार्सिलोना आएदेखि नै मैले क्लबका लागि यी पाँच वर्षमा धेरैथोक दिएको छु । र, म यहाँ खेलेर मात्रै आफूसँग रमाउन चाहन्छु ।

‘म अहिले ३१ वर्षको भएँ, ३८ वर्षको होइन । मलाई लाग्छ– म अहिले पनि करिअरको उत्कृष्ट समयमा छु ।’

०००

राकिटिक सन् २०१४ मा स्पेनकै क्लब सेभिल्लाबाट बार्सिलोना पुगेका थिए । सेभिल्लामा शानदार प्रदर्शन गरेपछि बार्सिलोनाले उनको प्रदर्शनबाट लोभिएर अनुबन्ध गरेको थियो । २०१४ यता राकिटिकले विभिन्न ५ जना प्रशिक्षकको नेतृत्वमा खेल्दा उनी हरेकको योजनामा पर्दै आएका थिए ।

तर, यसपटक भाल्भर्डेले उननलाई बिदाइको बाटो देखाइरहेका छन् । राकिटिकलाई इटालियन क्लब इन्टर मिलानले अनुबन्ध गर्न चासो दिइरहेको छ ।

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार १६:४३
Loading...