मेस्सी तीन महिनापछि अर्जेन्टिनी टोलीमा : यसरी हुँदैछ ब्राजिलविरुद्धको तयारी (फोटो फिचर)

एजेन्सी, कात्तिक २७
अर्जेन्टिनी टोलीका कप्तान लिओनल मेस्सी तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) को तीन महिना लामो प्रतिबन्धपछि उनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीमा फर्किएका हुन् ।

दुई दिनपछि अर्जेन्टिना र ब्राजिल साउदी अरेबिामा मैत्रीपूर्ण खेल्दैछन् । सो खेलका लागि मेस्सी राष्ट्रिय टोलीमा फर्किएका हुन् । मेस्सी अहिले समूहमा प्रशिक्षणमा व्यस्त छन् । अघिल्लो दिनबाटै उनले टोलीसँग प्रशिक्षण थालेका हुन् ।

गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल खेलेयता मेस्सी अर्जेन्टिनाको टोलीमा तीन खेलमा उपस्थित भएनन् । तर, ब्राजिलविरुद्धको खेलबाट उनी पुनरागमन गर्दैछन् । कोपाको सेमिफाइनलमा ब्राजिलविरुद्ध २–० ले हारेको अर्जेन्टिना तेस्रो स्थानका लागि भएको खेलमा चिलीलाई २–१ ले हराएर तेस्रो बनेको थियो ।

सोही खेल दौरान मेस्सी रातो कार्ड खाँदै मैदान छाडेका थिए । पछि उनले आयोजकलाई ‘भ्रष्ट संस्था’ भनेर आलोचना गरेपछि महासंघले उनीमाथि आर्थिक जरिमानासहित तीन महिनाको प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय करिअरमा सधैं आलोचना खेप्दै आएका मेस्सीको यसपटकको पुनरामगनलाई महत्त्वसाथ हेरिएको छ । अर्जेन्टिनाको इतिहासमा सर्वाधिक गोलकर्ता उनले हालसम्म देशका लागि १३६ खेलबाट ६८ गोल गरेका छन् ।

अर्जेन्टिना र ब्राजिलको खेल शुक्रबार राति साउदीमा हुनेछ । त्यसपछि दोस्रो खेलमा अर्जेन्टिना र उरुग्वे इजरायलमा बुधबार भिड्नेछन् ।

 

 

 

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ११:४३
Loading...