‘नयाँ लक्ष्य’सहित रोनाल्डो पोर्चुगिज टोलीमा प्रशिक्षणमा व्यस्त (हेर्नुहोस् चार तस्बिरमा)

एजेन्सी, कात्तिक २७
पछिल्लो समय विवाद र आलोचनाको घेरामा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीमा प्रशिक्षण थालेका छन् । अघिल्लो दिनबाट उनले सहकर्मीसँगै प्रशिक्षण थालेका हुन् ।

तीन दिनअघि युभेन्टसमा एसी मिलानविरुद्धको खेलपछि सब्सिच्युट भएको विषयमा जोडिएर विवादमा तानिएका उनी अहिले ठीकठाक अवस्थामा राष्ट्रिय टोलीमा प्रशिक्षणरत छन् । सिरी ‘ए’ मा एसी मिलानविरुद्धको खेलमा रोनाल्डोलाई प्रशिक्षक सार्रीले खेलको ५५औं मिनेटमा प्रतिस्थापन गरेका थिए । त्यसअघि च्याम्पियन्स लिगमा लोकोमोटिभ मोस्कोविरुद्धको खेलमा पनि उनलाई प्रतिस्थापन गरिएको थियो ।

यो सिजन युभेन्टसमा लयमा नरहेका रोनाल्डो पोर्चुगलको टोलीमा भने शानदार लयमा छन् । उनले यस वर्ष मात्रै देशका लागि अफिसियल प्रतियोगितामा कूल १० गोल गरिसकेका छन्, जुन युरोपका अन्य कुनै पनि खेलाडीले गरेको भन्दा सर्वाधिक बढी गोल हो ।

पोर्चुगल अर्को वर्ष हुने युरो कप छनौट खेल खेलिरहेको छ । र, यस साता उसले लिथुनिया र लक्जेमबर्गसँग गरी दुई खेल खेल्दैछ । रोनाल्डो सोही खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका हुन् । युभेन्टसमा लयमा नरहेका रोनाल्डोका लागि अन्तर्राष्ट्रिय मञ्चमा भने लय कायमै राख्ने अपेक्षा गरिएको छ ।

रोनाल्डो पोर्चुगलको इतिहासमै सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले देशका लागि हालसम्म ९५ गोल गरिसकेका छन् । र, उनी १०० गोलबाट मात्रै ५ गोलले टाढा छन् । उनले ‘गोल स्कोरिङ’को लय कायम राख्न सके यी दुई खेलबाटै १०० गोलको शानदार कोसेढुंगा पूरा गर्न सक्ने सम्भावना प्रबल छ । यसअघि रोनाल्डोले लिथुनियाविरुद्ध एकै खेलमा ४ गोल हानेका थिए ।

पोर्चुगलले नेपाली समयअनुसार शुक्रबार बिहान लिथुनियासँग र अर्को खेल आइतबार लक्जेमबर्गसँग खेल्ने तालिका छ । पोर्चुगल हाल समूह ‘बी’मा ११ अंकसहित दोस्रो स्थानमा छ । १९ अंक भएको युक्रेन शीर्ष स्थानमा छ । यस समूहबाट शीर्ष दुईमा रहने टोली युरो कपका लागि छानिनेछन् ।

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ११:५७
Loading...