मेस्सी र रोनाल्डोलाई उछिन्दै मोड्रिकले जिते ‘गोल्डेन फुट’ अवार्ड

काठमाडौं, कात्तिक २७
वर्ष २०१९ का लागि प्रतिष्ठित ‘गोल्डेन फुट’ अवार्ड स्पेनिस क्लब रियल मड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिकले जितेका छन् । उनले आफ्ना पूर्वसहकर्मी तथा हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो तथा बार्सिलोनाका लिओनल मेस्सीलाई पछि पार्दै सो अवार्ड जितेका हुन् । मोड्रिकलाई गत राति मोनाकोमा एक सभाबीच सो अवार्ड प्रदान गरियो ।

३४ वर्ष मोड्रिकले पहिलोपटक सो अवार्ड जित्दा रोनाल्डो र मेस्सीले यति लामो करिअर दौरान हालसम्म सो अवार्ड जित्न सकेका छैनन् । सो अवार्ड हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने २९ वर्षभन्दा माथिका खेलाडीलाई दिइन्छ । यसपटकको अवार्ड १७औं संस्करण हो ।

गत वर्ष बालोन डि‘ओर जितेका मोड्रिक यस वर्षका लागि ‘फिफा फिप्रो’मा विश्वकै उत्कृष्ट मिडफिल्डरको वर्ल्ड–११ मा परेका थिए ।

यसपटक सो अवार्डका लागि मोड्रिकसँगै बार्सिलोनाका मेस्सी, बार्सिलोनाकै जेरार्ड पिके, रियलकै सर्जिरो रामोस, युभेन्टसका रोनाल्डो, सोही क्लबका जर्जियो चिलिनी, फ्रेन्च क्लब पिएसजीका थियागो सिल्भा, इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अगुएरो, इंग्लिस खेलाडी वायने रुनी, जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीसहित १० खेलाडी मनोनयनमा परेका थिए ।

गत वर्ष सो अवार्ड फ्रेन्च क्लब पिएसजी तथा उरुग्वेका इडिसन काभानी र त्यसअघि स्पेन तथा पोर्टोका गोलकिपर इकर क्यासिल्लासले जितेका थिए ।

प्रकाशित मिति २७ कार्तिक २०७६, बुधबार ०८:५९
Loading...