मेस्सीलाई कसरी रोक्ने ? यसो भन्छन् विलियन

एजेन्सी, कात्तिक २६
यही शुक्रबार राति दक्षिण अमेरिकी क्षेत्रका चीर प्रतिद्वन्द्वी राष्ट्र अर्जेन्टिना र ब्राजिल मैत्रीपूर्ण खेलमा भिड्दैछन् । साउदी अरेबियामा हुने सो खेललाई निकै महत्त्वसाथ हेरिएको छ ।

ब्राजिल र अर्जेन्टिना यसअघि गत जुलाईमा ब्राजिलमा भएको कोपा अमेरिका फुटबलअन्तर्गत सेमिफाइनलमा भिडेका थिए । जहाँ घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई हराएर फाइनल प्रवेश गरेको थियो । पछि ब्राजिल आफ्नो भूमिमा च्याम्पियन बन्यो भने अर्जेन्टिना चिलीलाई हराएर तेस्रो मात्रै बन्यो ।

सो खेलअघि इंग्लिस क्लब चेल्सीबाट खेल्ने ब्राजिलका फरवार्ड विलियनले अर्जेन्टिनासँगको खेलबारे धारणा राखेका छन् । शुक्रबार अर्जेन्टिनाविरुद्ध उत्रिनुअघि उनले विपक्षी टिमका कप्तान लिओनल मेस्सीलाई कसरी रोक्ने भन्नेबारे धारणा राखेका छन् । उनले मेस्सीलाई व्यक्तिगत रूपमा रोक्न आफूहरूले चिन्ता नगर्ने भन्दै आफ्नो शैलीको खेल खेल्ने बताए ।

‘मलाई थाहा छ– उनी मैदानमा हुँदा विपक्षी डिफेन्डरहरू निकै व्यस्त हुनेछन् । र, दबाबमा पनि हुनेछन् । उनलाई निस्तेज पार्न हामीले उनी हुन सक्ने ठाउँ खाली छाड्नु हुँदैन । तर, हामी उनलाई एक व्यक्तिकेन्द्रित रणनीतिबाट रोक्न सक्दैनौं । हामी टिमका रूपमा खेल्छौं । र, सकेसम्म मेस्सीको स्थानलाई साँघुरो बनाउन चाहन्छौं,’ विलियनले भने ।

विलियनले मेस्सीको तारिफ गर्दै उनी एक ठूला खेलाडी भएको बताए । अर्जेन्टिनाविरुद्ध विगतमा थुप्रैपटक खेलिसकेकाले यो खेल खास फरक नहुने उनको भनाइ छ । ‘उनी एक शानदार खेलाडी हुन् । विश्वमै उत्कृष्ट । तर, हामीले अर्जेन्टिनासँग थुप्रैपटक खेलिसकेका छौं । र, यसपटक खेलमा कुनै नयाँ हुनेछैन ।’

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार २०:०९
Loading...