मेस्सीलाई पछि पार्दै भान डाइकले जिते ‘गोल ५०’ अवार्ड

एजेन्सी, कात्तिक २६
इंग्लिस क्लब लिभरपुलका सेन्टर डिफेन्डर भर्जिल भान डाइकले वर्ष २०१९ का लागि ‘गोल ५०’ अवार्ड जितेका छन् । उनले स्पेनिस बार्सिलोना तथा लिभरपुलका आफ्नै सहकर्मी मोहमद सालाहलाई पछि पार्दै सो अवार्ड जितेका हुन् ।

वर्ष २०१९ भरिको प्रदर्शनका आधारमा डच डिफेन्डर भान डाइकले सर्वाधिक भोट–मतका साथ अवार्ड जितेका छन् । यससँगै भान डाइक सो अवार्ड जित्ने पहिलो डिफेन्डरसमेत बनेका छन् ।

‘गोल ५०’ आवर्ड चर्चित खेल सञ्चार संस्था ‘गोल’ ले दिने प्रतिष्ठित अवार्ड हो । यो अवार्ड सन् २००८ बाट दिइँदै आएको छ । यसपटकको १२औं संस्करण हो ।

भान डाइकले गत सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग तथा यस वर्ष युइएफए सुपर कपको उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका खेलेका थिए । सो अवार्डका लागि टप–५० खेलाडीको मनोनयन सार्वजनिक गरेर भोटका आधारमा सर्वाधिक मत ल्याउनेलाई विजेता घोषणा गरिन्छ ।

यो अवार्ड हालसम्म सर्वाधिक बढी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले कूल ५ पटक जितेका छन् भने मेस्सीले मात्रै ४ पटक जितेका छन् । गत वर्ष सो अवार्ड रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिकले जितेका थिए ।

यसपटक भान डाइकले अवार्ड जित्दा बार्सिलोनाका लिओनल मेस्सी दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा लिभरपुलकै मोहमद सालाह रहँदा चौथोमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहे भने लिभरपुलकै साडियो माने पौचौं स्थानमा रहे ।

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार १८:५८
Loading...