रोनाल्डोमाथि दुई वर्ष प्रतिबन्धको खतरा !

एजेन्सी, कात्तिक २६
इटालियन युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डामाथि दुई वर्ष प्रतिबन्ध लाग्ने सक्ने खतरा बढेको छ । इटालियन सिरी ‘ए’ फुटबलमा आइतबार मिलानविरुद्धको खेल दौरान रोनाल्डो खेलको ५५औं मिनेटमा सब्सिच्युट भएका थिए ।

सब्सिच्युट भएपछि रोनाल्डो बेन्चमा नबसी सोझै स्टेडियमबाट बाहिरिएपछि उनीविरुद्ध ‘एन्टी डोपिङ नियम’का आधारमा कम्तीमा पनि दुई वर्षसम्म प्रतिबन्ध लाग्न सक्ने इटालीका पूर्वखेलाडी एन्टोनियो कासानोले दाबी गरेका छन् ।

घाइते अवस्थामा मिलानविरुद्ध खेलेका रोनाल्डोलाई खेलको ५५औं मिनेटमा पाउलो डिबालाले प्रतिस्थापन गरेका थिए । तर, सब्सिच्युट भएपछि रोनाल्डो बेन्चमा नबसी सोझै ड्रेसिङ रुमतर्फ लागेका थिए । त्यसपछि उनी खेल सकिन ३ मिनेट बाँकी छँदै रंगशाला छाड्दै बाहिरिएका थिए ।

अहिले रोनाल्डोले खेल सकिन बाँकी छँदै रंगशाला छाड्नु नियमबिपरीत हुने भन्दै उनीमाथि सम्भावित कारबाहीको जोखिम अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कासानाले भनेका छन्, ‘खेल सकिनुअघि नै रंगशाला छाड्नुलाई एन्टी डोपिङ नियमबिपरीत मानिन्छ । उनी तुरुन्त फर्कनुपर्ने थियो । उनले नियम उल्लंघन गरेका छन्,’ कासानोले भने, ‘म पनि विगतमा यस्तै प्रतिबन्धबाट बचेको छु । लाजियोविरुद्ध खेलेपछि मैले रंगशाला छाडेको थिएँ । तर, प्रतिबन्ध हुने थाहा पाएपछि तुरुन्तै म रंगशाला फर्किएको थिएँ ।’

तर, यसअघि युभेन्टसका प्रशिक्षक सार्रीले भने रोनाल्डोले मैदान छाडेर बेन्चमा नबस्नु चर्चा गर्नुपर्ने विषय नभएको बताएका थिए । सार्रीले रोनाल्डो घाइते भएकाले बेन्चमा नबसेको बताएर बचाउ गरेका थिए ।

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार १७:३६
Loading...