‘रोनाल्डो सर्वोत्कृष्ट हुन् तर अहिले लयमा छैनन्’

एजेन्सी, कात्तिक २६
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन उत्कृष्ट लयमा छैनन् । उनले घरेलु लिग र च्याम्पियन्स लिगमा पनि गोलका लागि ठूलै संघर्ष गरिरहेका छन् । जारी सिजन युभेन्टसका लागि उनले सबैखाले प्रतियोगितामा १२ खेलबाट ६ गोल मात्रै गरेका छन् भने १ गोलका लागि असिस्ट गरेका छन् ।

इटालियन फुटबल प्रशिक्षक फावियो कापेलोले यो बताएका छन् कि, रोनाल्डोका लागि यो सिजन उत्कृष्ट हुन सकिरहेको छैन । कापेलोले पछिल्ला वर्ष उनको प्रदर्शन खस्किँदै गएको बताएका छन् ।

रोनाल्डो युभेन्टसका पछिल्ला दुई खेलमा लगातार सब्सिच्युट भएका थिए । प्रशिक्षक सार्रीले उनलाई च्याम्पियन्स लिगमा लोकोमोटिभ मोस्को र सिरी ‘ए’ मा पछिल्लोपटक एसी मिलानविरुद्ध गरी लगातार दुई खेलमा सब्सिच्युट गरेका थिए ।

‘रोनाल्डो सर्वोत्कृष्ट र च्याम्पियन खेलाडी हुन्, त्यसमा कसैले विवाद गर्नु आवश्य छैन,’ कापेलोले भनेका छन्, ‘तर, पछिल्ला वर्ष उनले कुनै पनि खेलाडीका लागि ड्रिबलमा बिट गर्दै पास दिएका छैनन् ।’

कापेलोले रोनाल्डो टोलीका लागि निर्णायक खेलाडी भए पनि उनी यतिबेला उत्कृष्ट लयमा नरहेको बताए । ‘रोनाल्डो अहिले उत्कृष्ट लयमा छैनन् । यस्तो बेला उनलाई परिवर्तन गर्नु सामान्य हो,’ कापेलोले भने, ‘प्रशिक्षकले उनको व्यक्तित्व हेरेर परिवर्तन नगर्ने भन्ने कुरा आउँदैन ।’

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार १५:५८
Loading...