‘जिते मेस्सीले गर्दा, हारे भाल्भर्डेले गर्दा ?’

एजेन्सी, कात्तिक २६
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी टोलीका निर्णायक खेलाडी हुन् । उनी हुँदा र नहुँदा टिमको नतिजामा फरक पर्छ नै । बार्सिलोनाको जितमा अक्सर मेस्सी निर्णायक खेलाडी हुन्छन् । त्यसो हुँदा जितमा उनको हाई–हाई हुनु स्वाभिकै हो ।

तर, पराजित हुँदा भने आलोचक तथा समर्थकहरू प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई सबै दोष थोपरेर खेलाडीलाई चोखो बनाउनतिर लाग्छन् । पछिल्लो समय बार्सिलोनाको टोलीमा यस्तै चरित्र देखिँदै आएको छ । यतिबेला बार्सिलोना च्याम्पियन्स लिगमा आफ्नो समूहको शीर्ष स्थानमा छ भने ला लिगामा पनि लिग लिडर छ । तैपनि, बार्सिलोना आलोचनामुक्त भने छैन ।

जसका कारण समर्थकहरू प्रशिक्षक भाल्भर्डेको खेल रणनीति र योजनाबाट खुसी हुन नसकेर उनलाई क्लबले पदमुक्त गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरूले बार्सिलोनाले जित्न नसक्दा वा हार्दाको दोष प्रशिक्षकमाथि थोपर्ने गर्छन् ।

तर, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले भने बार्सिलोनामा जित्दाको जस मेस्सीलाई जाने र हार्दा प्रशिक्षकले दोष लिनुपर्ने अवस्था रहेको भन्दै आलोचना गरेका छन् । उनले बार्सिलोनाले ‘जिते मेस्सीले गर्दा’ भन्ने र ‘हारे प्रशिक्षकले गर्दा’ भन्ने सोच विकृत रहेको बताए ।

‘म सुन्ने गर्छु– जतिबेला बार्सिलोनाले खेल जित्छ, त्यहाँ मेस्सीको हाई–हाई हुन्छ । तर, जतिबेला बार्सिलोना हार्छ, त्यहाँ मेस्सी वा अन्य खेलाडीको कुरा आउँदैन, प्रशिक्षकलाई दोष दिइन्छ,’ भाल्भर्डेले भने, ‘यो एक हिसाबले विकृत सोच हो, जसले खेलाडी र टिमलाई नै खराब गर्छ ।’

‘मुन्डो डेपोर्टिभो’सँग कुरा गर्दै रिभाल्डोले बार्सिलोनामा प्रशिक्षक अर्नेस्टो भाल्भ्र्डेले आफ्नो पद जोगाउन च्याम्पियन्स लिग जित्नुपर्ने पनि बताए । ‘यदि भाल्भर्डे बार्सिलोनामा निरन्तरता चाहन्छन् भने उनले च्याम्पियन्स लिग जिताउनुपर्छ, यो कुरा उनलाई पनि राम्रोसँग थाहा छ,’ रिभाल्डोले भने, ‘अन्यथा जो कोहीलाई पनि बार्सिलोनामा प्रशिक्षक रहिरहन सजिलो हुँदैन ।’

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ११:४९
Loading...