स्पेनको पोस्टमा आधा दर्जन गोल : फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं, कात्तिक २६
ब्राजिलमा जारी फिफा यु–१७ विश्वकप फुटबलमा फ्रान्सले उपाधि दाबेदार टोली स्पेनमाथि रवाफिलो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा फ्रान्सको युवा टोलीले स्पेनको युवा टोलीमाथि १–६ को शानदार जित निकालेको हो ।

खेलको सुरुआतबाटै स्पेनमाथि आक्रामक खेल खेलेको फ्रान्सका लािग ६ जना फरक–फरक खेलाडीले गोल गरे । खेलमा अग्रता भने स्पेनले लिएको थियो । उसका लागि खेलको नवौं मिनेटमा जर्मन भालेराले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि फ्रान्सले शानदार कमब्याक गर्न सफल भयो । फ्रान्सका लागि खेलको २१औं मिनेटमा नाइनजोउ टांगी कोउसायीले गोल गर्दै खेल १–१ बनाएका थिए । सो गोलपछि फ्रान्सले लगातार ५ गोल हान्दा स्पेनले गोल फर्काउन सकेन ।

फ्रान्सका लागि खेलको ३६औं मिनेटमा नाथानाए बाकुले दोस्रो गोल गरेर टिमलाई पहिलो हाफमा १–२ को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै इसाक लिथाड्जीले गोल गरे भने ५४औं मिनेटमा टिमोटे पेम्बेलेले गोल गरेपछि फ्रान्स १–४ ले अघि रह्यो ।

फान्स त्यत्तिमै अडिएन । खेलको ५९औं मिनेटमा जर्जिन्हो रटरले अर्को गोल थपे । फेरि खेलको इन्जुरी समयमा अडिलले गोल गरेपछि खेल फ्रान्सले १–६ ले जित्यो ।

अब सेमिफाइनलमा फ्रान्सले ब्राजिलको सामना गर्नेछ । अर्को सेमिफाइनलमा मेक्सिको र नेदरल्यान्ड्सको भिडन्त हुनेछ ।

प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ०८:३३
Loading...