विश्वकप छनौट : नेपालमा हुने कुवेतसँगको ‘होम म्याच’ भुटानमै हुने

काठमाडौं, कात्तिक २५
नेपाल अहिले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलअन्तर्गत दोस्रो चरणको छनौट खेल खेलिरहेको छ । जसअन्तर्गत नेपालले अवे खेल खेलिसकेको छ भने अब होम म्याचहरू खेल्दैछ । पहिलो होम म्याचअन्तर्गत नेपालले मंसिर ३ गते कुवेतसँग खेल्दैछ । सो खेल भुटानमा हुने तय भएको छ ।

होम म्याचअन्तर्गत काठमाडौंस्थित दशरथ रंगशालामा हुने तय भएको सो खेल नेपालमा रहेको एक मात्रै दशरथ अन्तर्राष्ट्रिय रंगशाला पुनर्निर्माण कार्य नसकिएपछि सो खेल भुटानमा खेलाउने तय भएको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र कुवेतको खेल काठमाडौंमा हुन नसक्ने निर्णय गरेको छ । विश्वकप छनौट खेलका लागि रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने भएपछि नेपालमा दशरथबाहेक अन्य रंगशलामा खेल हुन नसक्ने भएको हो ।

दशरथको पुनर्निर्माण कार्य नसकिएपछि नेपालले ‘न्युट्रल भेन्यु’का रूपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेल खेलाउन प्रस्ताव गरेको थियो । तर, सुरुआतबाटै कुवेतले भने सो खेल भुटानमा खेल्न अस्वीकार गर्दै आएको थियो ।

तर, नेपालले आफ्नो देशको समस्या दर्शाउँदै भुटानमा खेल खेलाउने गरी एएफसी र फिफा समक्ष प्रस्ताव गरेकोमा नेपालले भनेअनुसारै दुवै निकायबाट निर्णय गरेपछि सो खेल भुटानमा हुने पक्का भएको हो । आज मात्रै एन्फाले अफिसियल रूपमा विज्ञप्ति जारी गर्दै सो खेल भुटानमा खेलाउने पुष्टि गरेको छ ।

नेपालले यसअघि छनौटअन्तर्गत पहिलो खेल कुवेतविरुद्ध उसकै घरमा खेलेकोमा ७–० ले हारेको थियो । त्यसपछि दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हरायो भने तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ५–० ले हारेको थियो । त्यसपछि नेपाल चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

नेपालले अब होम म्याचअन्तर्गत चार खेल खेल्नेछ । जसमा पहिलो खेल कुवेतसँग खेल्ने तालिका छ । तर, भौतिक पूर्वाधार तयार नहुँदा सो खेल अर्को देशमा हुने पक्का भएको छ ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार २१:३७
Loading...