भिएआरप्रति खनिए ग्वार्डिओला– ‘प्रिमियर लिगमा भिएआर छ र !’

एजेन्सी, कात्तिक २५
गत राति इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल र साबिक विजेता म्यानचेस्टर सिटी १२औं खेलमा भिडे । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पाहुना टोली सिटीलाई ३–१ ले निराश बनायो । सो जितपछि लिभरपुलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनायो भने सिटीलाई स्पष्ट रूपमा ९ अंकले पछि छाड्यो ।

तर, सो खेल दौरान रेफ्रीका केही निर्णय भने विवादित बनेका छन् । खेल दौरान सिटीले कम्तीमा दुई पेनाल्टी पाउनुपर्नेमा रेफ्रीले नदिएर पक्षपातपूर्ण ढंगले खेल खेलाएको भन्दै सिटीका खेलाडी र प्रशिक्षक पेप ग्वार्डिओलाले त्यत्तिबेलै विरोध गरेका थिए ।

लिभरपुलका खेलाडीले पेनाल्टी बक्स क्षेत्रमा पहिलो र दोस्रो हाफमा गरी दुई ह्यान्ड बल गरेका थिए । तर, दुवै ह्यान्ड बेलमा रेफ्रीले पेनाल्टी दिएनन् । सिटीका खेलाडीले भिएआर प्रयोग गर्न अपिल गरे पनि रेफ्रीले सो अपिल सुनुवाई गरेनन् । जसको फाइदा लिभरपुललाई पुग्यो ।

यदि ती दुवै वा कुनै एक ह्यान्ड बला पेनाल्टी दिइएको थियो भने खेलको नतिजा अर्कै हुन सक्थ्यो । सो कुरा बुझेका सिटीका प्रशिक्षक ग्वार्डिअ‍ोलाले खेलपछि खेल खेलाउने रेफ्री र भिएआरको चर्को आलोचना गरे । उनले आफूहरूले कम्तीमा दुई पेनाल्टी पाउनुपर्ने भए पनि नदिएर खेलको नतिजालाई प्रभावित पारेको आरोप लगाए ।

‘यो घामझैं छर्लंग छ कि, त्यहाँ दुई पेनाल्टी थिए । तर, रेफ्रीले नजरअन्दाज गरे । यसले खेलको नतिजा नै बदल्यो,’ पेपले भने, ‘यस्ता ठूला खेलमा यस स्तरका लापरबाही क्षमायोग्य छैनन् ।’

पेपले रेफ्रीले भिएआर प्रयोग गर्न अपिल गर्दासमेत सुनुवाई नगरेको भन्दै भिएआरप्रति नै व्यंग हान्न भ्याए । ‘प्रिमियर लिगमा भिएआर छ र ! मलाई थाहा छैन, गएर रेफ्रीलाई सोध्नुहोस्,’ पत्रकार सम्मेलनमा उनले आक्रोशित हुँदै भने ।

गत रातिको हारपछि सिटी १२ खेलपछि २५ अंक बनाएर चौथो स्थानमा खुम्चिएको छ । लिभरपुल सिटीभन्दा ९ अंकले अघि रहेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १४:२०
Loading...