रोनाल्डोलाई किन लगातार ‘सब्सिच्युट’ गरियो ? सार्रीले खुलाए कारण

एजेन्सी, कात्तिक २५
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो यो सिजन आफ्नो पुरानो लयमा छैनन् । औसत प्रदर्शन गर्दै आएका उनको च्याम्पियन्स लिग र घरेलु लिगमा प्रदर्शन र गोलको संख्या राम्रो छैन । तर, राष्ट्रिय टिमबाट भने उनी अझै पनि शानदार लयमा छन् ।

हाल ३४ वर्ष पुगेका रोनाल्डोले क्लब फुटबलमा पनि यो सिजन ठूलै संघर्ष गरिरहेका छन् । मैदानको उनको प्रदर्शन र तथ्यांकले पनि देखाउँछ । त्यसमा पनि पछिल्ला दुई खेलमा लगातार उनी सब्सिच्युट भएपछि रोनाल्डोको प्रदर्शनमा थप प्रश्न उठ्न थालेको छ ।

गत राति युभेन्टसले आफ्नो घरेलु मैदानमा लिगको १२औं खेल एसी मिलानसँग खेल्यो । सो खेलमा सुरुआतबाटै खेलेका रोनाल्डोलाई प्रशिक्षक सार्रीले ५५औं मिनेटमा सब्सिच्युट गराए । रोनाल्डोको स्थानमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई मैदान छिराएका थिए ।

रोनाल्डोले सो खेलमा खास प्रभाव जमाएनन् । तीनपटक गोलका लागि प्रयास गरे पनि उनको दुई प्रहार गोलकिपरले बचाएका थिए भने एक अवसरमा उनी आफैं चुकेका थिए । उनी मैदानमा फिट अवस्थामा देखिँदैन थिए । उनको स्थानमा मैदान छिरेका डिबालाले ७७औं मिनेटमा गोल गरेर टिमलाई जिताए ।

गत राति सब्सिच्युट भएपछि रोनाल्डो खुसी देखिएनन् । जब उनले मैदान छाडे, उनी बेन्चमा गएर बसेनन् । सोझै ड्रेसिङ रुमतर्फ लागे । उनी सब्सिच्युट हुनुपर्दा खुसी थिएनन् भन्ने प्रष्ट देखिन्थ्यो । रोनाल्डोलाई यसअघि च्याम्पियन्स लिगमा अवे मैदानमा लोकोमोटिभ मोस्कोविरुद्ध भएको खेलमा पनि ८२औं मिनेटमा सब्सिच्युट गरिएको थियो ।

प्रशिक्षक सार्रीले रोनाल्डोलाई लगातार दुई खेलमा सब्सिच्युट गरेपछि रोनाल्डो बेखुसी हुनु नयाँ कुरा होइन । किनभने, रोनाल्डो चोट वा अन्य खास अवस्थाबाहेक सब्सिच्युट हुन चाहँदैनन् । विगतमा पनि सब्सिच्युट हुनुपर्दा उनले थुप्रैपटक देखिने गरी आक्रोश पोखेका थिए । रोनाल्डो चोट वा खेल जित्ने सुनिश्चित भएको अवस्थामा बाहेक पूरा समय मैदानमा खेल्न चाहन्छन्, यो उनको स्वभाव हो ।

सार्री भन्छन्– ‘रोनाल्डोलाई चोट छ’

लगातार दुई खेलमा रोनाल्डोलाई प्रतिस्थापन गरेका युभेन्टसका प्रशिक्षक सार्रीले भने रोनाल्डोको कमजोर प्रदर्शन र उनलाई प्रतिस्थापन गर्ने आफ्ना निर्णयबारे बोलेका छन् । गत राति आफ्नो घरमा एसी मिलानलाई हराएपछि मिडियाले उनलाई रोनाल्डोको अवस्था र प्रतिस्थापन गरिएको विषयमा सोधेका थिए ।

जसमा सार्रीले रोनाल्डोले कमजोर प्रदर्शन गरेको वा लयमा नरहेको भन्ने कुरा गलत भएको दाबी गर्दै रोनाल्डोको बचाउ गरे । उनले रोनाल्डो पछिल्ला तीन साता शारीरिक रूपमा फिट नरहेको बताउँदै उनलाई अवस्थाअनुसार दुई खेलमा सब्सिच्युट गरेको बताए ।

‘रोनाल्डो टोलीका प्रमुख खेलाडी हुन् । तर, पछिल्ला तीन साता उनी फिट छैनन् । उनलाई घुँडामा चोट छ । तैपनि, उनी आफैं खेल्छु भनेपछि उनी खेलिरहेका छन्,’ सार्रीले भने ।

सार्रीले रोनाल्डो सब्सिच्युट हुनुपर्दा रिसाएको भन्ने गलत रहेको बताए । ‘हैन, यो होइन । गोल गर्न नसक्दा उनी निराश हुनसक्छन् । तर, प्रतिस्थापन हुँदा रिसाएको होइन । यसबारे उनको र मेरो समझदारी छ,’ सार्रीले भने ।

सार्रीले रोनाल्डो अब अन्तर्राष्ट्रिय फुटबल खेल्न जाने भएकाले उनलाई थप चोटबाट जोगाउन पनि सब्सिच्युट गरिएको प्रष्टीकरण दिए । ‘उनी लगत्तै अन्तर्राष्ट्रिय ड्युटीमा जाँदैछन् । र, उनले त्यहाँ महत्त्वपूर्ण खेलहरू खेल्दैछन् । एक प्रशिक्षका हिसाबले त्यसका लागि उनलाई फिट राख्नु क्लब र प्रशिक्षकको दायित्व बन्छ ।’

सार्रीले रोनाल्डोको कमजोर प्रदर्शनको पनि बचाउ गरे । ‘कसले भन्यो उनी कमजोर खेलिरहेका छन् ? होइन । ३४ वर्षका खेलाडीले जति गरिरहेका छन्, त्यो पर्याप्त हो । अहिले उनले गोल गर्न सकिरहेका छनन्, यो सही हो,’ सार्रीले भने, ‘तर, रोनाल्डोजस्ता खेलाडी लामो समय गोलविहीन रहन सक्दैनन् । जब उनी गोल गर्न थाल्छन्, गोल गरिरहन्छन् । म र टिम उनको प्रदर्शनबाट सन्तुष्ट छौं ।’

जारी सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट १४ खेलबाट मात्रै ६ गोल गरेका छन् भने १ गोलका लागि असिस्ट गरेका छन् । यता, पोर्चुगलका लागि भने उनले शानदार लय कायम राख्दै वर्ष २०१९ मा अफिसियल प्रतियोगितामा मात्रै १० गोल गरिसकेका छन्, जुन युरोपका अन्य कुनै पनि खेलाडीको भन्दा सर्वाधिक बढी हो ।

प्रकाशित मिति २५ कार्तिक २०७६, सोमबार १०:५५
Loading...